काठमाडौँ – बागलुङको एक विद्यालयमा कोरोना फैलिएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयमा कोरोना फैलिएको हो।
बागलुङ नगरपालिका– १४ बलेवास्थित उक्त विद्यालयमा शिक्षक र विद्यार्थी गरी ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना पुष्टि भएका सम्पूर्ण होम आइसोलेशनमा छन्।
स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गरेकोमा ३९ जना संक्रमित भेटिएको जिल्लाका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।
सोमबार मात्रै सरकारले विभिन्न जिल्लाहरुका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर, विद्यालय बन्द गर्ने भनिएका जिल्लाहरुमा बागलुङ नपरेका कारण त्यहाँका विद्यालयहरु खुला छन्।
संक्रमण देखिएको विद्यालय भने बुधबारबाट बन्द गर्ने तयारी गरिएको छ। यधपी जिल्लाका अन्य विद्यालयहरु भने नियमित रुपमा खुलिरहेका छन्।

