बलिङ र ब्याटिङ दुबै पक्ष चलेपछि नेपालले जारी त्रिकोणात्मक टि ट्वान्टी आई क्रिकेट सिरिजको लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ। यस जीतसँगै नेपाल चार खेलबाट ६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको छ।
दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको ५ अंक रह्यो भने एक खेल पनि जित्न नसकेको मलेसिया एक अंकका साथ पुछारमा रह्यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेललमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाउन सफल भयो।
नेपालको लागि करन केसीले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा ४५ रन प्रहार गरेका थिए। उनले आफ्नो पारीमा ७ छक्का प्रहार गरेका थिए। त्यस्तै, आसिफ सेखले ४२ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको महत्वपूर्ण पारी खेले। बलिङ तर्फ मलेसियाका स्येद अजिज, अनवर रहमान र फित्री शमले २-२ तथा मुहम्मद वाफिकले १ विकेट हात पारेका थिए।
२१८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मलेसिया १९.१ ओभरमा १४८ रन मै अल-आउट भएपछि नेपाल ७९ रनको फराकिलो जीत निकाल्न सफल भएको हो। मलेसियाको लागि अमिनुद्दीन रामलीले सर्वाधिक ४१ रनको योगदान दिए भने कप्तान अहमद फैजले २१ रन बनाए। अन्य ब्याट्सम्यान खासै चल्न नसक्दा मलेसिया १४८ रनमै समेटियो। बलिङ तर्फ नेपालका लागि सोम्पाल कामी, सन्दीप लामिछाने र कमल सिंह ऐरीले ३-३ तथा सुशन भारीले एक विकेट लिन सफल भए।