भक्तपुर — २०७२ वैशाख १२ को त्रासदीका घटना सम्झिनेहरूका लागि अझै पनि एउटा घटना चिरस्मरणीय छ । त्यो हो घर भत्किएर पुरिएका चार महिनाका शिशुको २२ घण्टापछि जीवितै उद्धार । उद्धार गरिएका ती शिशु हुन् सोनिश अवाल । उनी ७ वर्ष टेकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
भक्तपुरको ब्यासीस्थित एक निजी विद्यालयमा कक्षा १ मा पढ्छन् । उनी टोल छिमेकका अरू बालबालिकासँग खेल्छन्/कुद्छन् । एकै ठाउँमा बसिरहन मन पराउँदैनन् । चञ्चले छन् । उनलाई भूकम्पबारे खासै थाहा छैन । आफन्तलाई भने त्यो दिनको झझल्को आइरहन्छ ।
भूकम्पको धक्काले घर भत्किएर पुरिएका उनलाई नेपाली सेनाले उद्धार गरेको थियो । पढाइका लागि वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्दै नेपाली सेनाले उनलाई स्नातक तहसम्म अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता गरेको छ । ‘सेनाले कक्षा ६ देखि ब्याचलरसम्म सैनिक विद्यालयमा निःशुल्क पढाउने भनेको छ,’ आमा रश्मिलाले भनिन् ।
सोनिश पढाइमा अब्बल छन् । विद्यालय जान थालेपछि छोराको बुझ्ने क्षमतामा वृद्धि भएको र तेज हुँदै गएको रश्मिलाले महसुस गरेकी छन् । ‘पढाइमा तेज छ, ए प्लस रिजल्ट ल्याउँछ,’ उनले भनिन् । सोनिश खेलप्रति रुचि राख्छन् । विद्यालयका कक्षाबोहकका अतिरिक्त क्रियाकलापमा भाग लिइरहन्छन् । विद्यालयमा कहिलेकाहीं भूकम्पको कुरा सुन्दा घरमा आएर त्यसबारेमा थप बुझ्ने प्रयास गर्छन् । कोठाको भित्तामा झुन्ड्याइएको सेनाले उद्धार गरेपछिको आफ्नो फोटो हेर्दै दंग पर्छन् । छोराको रुचिअनुसार पढाउने र असल नागरिक बनाउने अभिभावकको चाहना छ ।
भूकम्पको धक्काले क्षतिग्रस्त घरको भग्नावशेषले २२ घण्टासम्म पुरिएका सोनिशलाई दैवले नै बचाएको रश्मिला बताउँछिन् । ‘सेनाले उद्धार गर्दा म साह्रै भावुक भएर रोएकी थिएँ,’ छोरालाई हेर्दै उनले त्यो दिन स्मरण गरिन् । आशा मारिसके पनि वरिपरि खोज्दै गर्दा राति ९ बजेतिर बाबु रोएको आवाज उनले सुनेकी थिइन् । यसले उनको मनमा आशा बलियो भयो । त्यो रात निकै कष्टकर र पीडादायी बित्यो । घाइते छोरी सोनियालाई हेर्दै भग्नावशेषभित्र रोइरहेको सोनिशलाई जिउँदै उद्धार हुने झिनो आशाले आमा रश्मिला र बुबा श्याम रातभर जागा बसे । राति ११ बजेसम्म प्रयास गर्दा पनि नेपाली सेनाको उद्धार टोली सोनिश अड्किएको ठाउँसम्म पुग्न सकेनन् । उनीहरूले भोलिपल्ट बिहान ६ बजेदेखि पुनः खोज्न थाले र बिहान १० बजेतिर सोनिशको सकुशल उद्धार भयो ।