काठमाडौ – भारतमा कोरोनाले भयावह स्थिति निम्तिएसँगैै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । यो अवस्थालाई ध्यानमा राखी काठमाडौंमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ । सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
काठमाडौंका बासिन्दाको लापरबाही रोक्न उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतको दाबी छ । यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।