२००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड प्रस्थान गर्नु अघि नै फुटबल जगतमा स्टार भएका थिए पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डो। रियलमा उनले आफ्नो स्तर र नामलाई अझ उचाईमा पुर्याउन सफल भए। उनको उपस्थितिमा रियल म्याड्रिडले हरेक उपाधि जित्न सफल भयो।

तर रोनाल्डोले छाडेपछि म्यानचेस्टर युनाइटेड आजसम्म पनि पहिलेको जस्तो क्लब रहन सकेको छैन। यस्तोमा म्यानचेस्टरका समर्थकहरु कुनै दिन रोनाल्डो फेरी रेड डेभिलसँग अनुबन्ध हुन्छन् कि भन्ने आशामा रहेका छन्। यी बीच धेरै पटक त्यसको चर्चा पनि चल्यो र अहिले पनि रोनाल्डो म्यानचेस्टर जाने कुराले फुटबल जगत तातेको छ।

गाजेटा डेल्लो स्पोर्टका अनुसार अर्को सिजन रोनाल्डो फेरी युनाइटेड फर्कन तयार रहेका छन्। यसको लागि पूर्व म्याड्रिड स्टार आफ्नो पारिश्रमिक कम गर्न पनि तयार रहेका छन्। रोनाल्डोले अहिले युभेन्टसमा ३१ मिलियन प्रति वर्ष कमाइरहेका छन् तर उनी युनाइटेडमा अनुबन्ध हुनको लागि उनी २० मिलियन वार्षिक पारिश्रमिक तलब लिनको लागि तयार रहेको बताइएको छ।

३६ वर्षको उमेरमा पनि रोनाल्डोले आफ्नो खेल स्तर अलिकति पनि कम हुन दिएका छैनन्। जारी सिजनमा रोनाल्डोले सबै प्रतियोगितामा गरी ३८ खेल खेल्दै ३४ गोल गरिसकेका छन्। युभेमा उनको भविष्य अनिश्चित भएको समयमा उनी म्यानचेस्टर जान्छन् कि जाँदैनन् भन्ने कुरा समयले नै बताउला।

