काठमाण्डाै – देशभर कोरोना संक्रमितको सङ्ख्या ३ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय २२ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएसँगै नेपालभर कोरोना संक्रमण हुने कुल सङ्ख्या ३ लाख नाघेको हो।
यस दिन ९ हजार २ सय ९२ जनाको पीसीआर परीक्षण र ७८६ जनाको एन्टीजिन परिक्षण गर्दा पीसीआर मार्फत ३ हजार ३२ जना र एन्टीजिन मार्फत ९० जना गरी कुल ३ हजार १ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३ लाख १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार मुलुकभर ४५० जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ। अहिले नेपालमा १९ हजार ३ सय ८२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको सङ्ख्या मध्ये काठमाडौँ उपत्यकामा मात्र १ हजार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौँमा १ हजार १ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २७० र भक्तपुरमा ९६ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका २८ जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार १ सय ६४ पुगेको छ ।

