भारतबाट फर्केका मजदुरको पीडा – अब कसरी पेट पाल्ने ?

झापा-रोजगारीका लागि भारत पुगेका नेपाली कोरोना भाइरसको पहिलो लहरसँगै आफ्नै देश फर्के । महामारीका कारण भारतबाट मात्र हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका थिए । सरकारले उनीहरुलाई नेपालमै व्यवस्थापन गर्न नसकेपछि १० महिनासम्म बेरोजगार रहेका उनीहरु फेरि मजदुरी गर्न भारत नै जान बाध्य भए ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

पूर्णरुपमा कोरोना रोकथाम नहुँदै रोजगारीका लागि भारत पुगेका नेपाली मजदुरलाई कोरोनाको दोस्रो लहरले पुनः नेपाल फर्काएको छ । भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिन थालेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक ४ सयदेखि ५ सय मजदुर नेपाल फर्कने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

सिराहाका रामेश्वर यादव विगत ८ वर्षदेखि भारतको कलकतामा मजदुरी गर्छन् । भारतमा मजदुरी गरेरै उनले सात जनाको परिवार पाल्दै आएका छन् । कोरोना भाइरसको पहिलो लहर शुरु भएसँगै गत वर्ष वैशाखमा यादवले नेपाल फर्कनुपर्यो । कोरोना रोकथाम नहुँदै मजदुरी गर्न भारत गएका रामेश्वरले दोस्रो लहरसँगै नेपाल फर्कन बाध्य भएको बताए । भारतमा कोरोनाका कारण लकडाउन सुरु भएपछि नेपाल फर्किनु परेको यादव बताउँछन् । लकडाउनका कारण आफूहरुलाई त्यहाँ खान–बस्न नै समस्या हुन थालेको भन्दै नेपाल फर्केको यादवले सुनाए ।

“पहिलो लहरले नेपाल फर्कायो, १० महिनासम्म सरकारले रोजगार दिन्छ कि भन्ने आश लाग्यो,” यादव भन्छन्, “नेपालमा रोजगारी नपाएपछि पेट पाल्नैका लागि भारत जानुपर्यो, अहिले दोस्रो लहरले फेरि फर्कायो अब कसरी आफ्नो र परिवारको पेट पाल्ने ?” यादव प्रश्न गर्छन् ।
सुनसरीका धिरज महतलाई पनि दोस्रो लहरले नेपाल फर्काएको छ । “नेपालमा रोजगारी नपाएपछि भारतमा कोरोना रोकथाम नहुँदै गत वर्षको माघमा नै म भारत गएँ” उनले भने, “बल्लतल्ल काम शुरु भएको थियो, फेरी नेपाल फर्कनुपर्यो ।”

अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता महतलाई छ । त्यस्तै, पढाइका लागि भारत गएका नेपाली विद्यार्थी पनि धमाधम नेपाल फर्कन थालिसकेका छन् । भारतमा कोरोना त्रास बढेकोले नेपाल फर्कनु परेको सुनसरीका दिपक यादवले बताए । “म दिल्लीमा सिए गर्दैछु, कोरोना बढेकाले कोठाबाट बाहिर निस्कसम्म पाइँदैँन,” यादवले भने, “त्यसैले नेपाल फर्किएको हो ।”

प्रकाशित : सोमबार, बैशाख १३, २०७८०७:०९

कोरोना संक्रमण बढेसँगै व्यापार सुक्यो, न्यूरोड-असन तिर किनमेल गर्न जाने पनि घटे !