काठमाडौँ – कोरोना भाइरस संक्रमण बढेपश्चात काठमाडौँ उपत्यकामा निषेधाज्ञाको तयारी गरिएको छ। उपत्यकामा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो।
सोमबार बसेको काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेपश्चात निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताइएको छ।
कोरोना संक्रमण रोक्नको लागि उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात सार्वजनिक यातायात ठप्प हुनेछन् भने निजी सवारी पनि चलाउन पाइनेछैन। बढी भिडभाड हुने क्षेत्र छुट्याएर निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ।
आइतबार मात्रै कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिन सिफारिस गरेको थियो।
५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा गर्न सकिने अधिकार दिने सीसीएमसीको निर्णय अनुसार नै उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञाको तयारीमा जुटेका हुन्।