बैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय भएपछि सरकारले उपत्यकामा रहेका नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिएको छ।
कोभिड संक्रमणको अवस्था गम्भीर हुँदै गएकोले थोरैमा पनि एकसाता निषेधाज्ञा हुने भएकोले त्योभन्दा अगाडि सबैलाई आ-आफ्नो घर फर्किन २ दिनको समय दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्। सोमबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहिबार राति १२ बजेबाट उपत्यकामा कम्तीमा एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ।
निषेधाज्ञा जारी भएपछि यातायात समेत सम्पूर्ण क्षेत्र ठप्प हुने भएकोले पहिलेनै नागरिकमा यस्तो पहल गरेको पनि बताइएको छ। कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा कोरोनाको चेन ब्रेक नहुने भएकोले सबै क्षेत्र पूर्णरूपमा बन्द गर्ने उदेश्यले निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।
यसअघि नै सम्पूर्ण सर्वसाधारणलाई सतर्क अपनाउन र स्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न अपिल गरे पनि त्यसको पलना नहुँदा निषेधाज्ञाको निर्णय गर्नु परेको प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ छ।