वैशाख १६ गते देखि निषेधाज्ञामा के खुल्छन्, के खुल्दैनन् ? [सूची सहित]

काठमाडौँ – कोरोना भाइरस संक्रमण बढेपश्चात काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिने भएको छ। उपत्यकामा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न लागिएको हो।

सोमबार बसेको काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेपश्चात निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताइएको छ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय भएपछि सरकारले उपत्यकामा रहेका नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिइने भएको छ।

कोभिड संक्रमणको अवस्था गम्भीर हुँदै गएकोले थोरैमा पनि एकसाता निषेधाज्ञा हुने भएकोले त्योभन्दा अगाडि सबैलाई आ-आफ्नो घर फर्किन २ दिनको समय दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

के खुल्छन्, के खुल्दैनन्?

निषेधाज्ञा जारी भएपश्चात लकडाउनमा जस्तो सबै बन्द हुने नभई मापदण्ड बनाएर विभिन्न क्षेत्रहरु खोल्न दिइने छ। वैशाख १६ गते देखि काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुनेछन्।

सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द गरिनेछ। पार्टी प्यालेस, किराना पसल बाहेकका सबै पसल र विद्यालयहरू बन्द हुनेछन्। होटलरेष्टुरेन्ट खुलेपनि होम डेलिभरीमात्र गर्न पाइनेछ।

सरकारी कार्यालय खुल्नेछन् भने आधा जनशक्ति राखेर बैंक तथा वित्तीय संस्था पनि सञ्चालन गरिनेछ। निषेधाज्ञा जारी भएपश्चात किराना पसल, औषधि पसल, अस्पताल खुल्नेछन्।

त्यस्तै श-वबाहन, एम्बुलेन्स, प्रेसका गाडी, खाद्यान्न, तरकारी, पानी, दूधजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने सवारी साधन लगायत चलन पाउनेछन्।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१७:१२

नेपालमा कोरोनाको स्थिति भयावह बन्दै, एकै दिन ३५ सय भन्दा बढी संक्रमित !