संक्रमितले बेड पाउनै छाडे, काठमाडौं उपत्यकामा पनि आइसियूको हाहाकार !

काठमाडौं । ‘कोरोना संक्रमित श्रीमान्लाई लिएर टेकु अस्पताल आएको दुई घण्टा भयो । बिरामीलाई भेन्टिलेरमा राख्नुपर्ने अवस्था छ । तर, कतै खाली छैन’, करिव ५० वर्ष आसपासमा रहेकी एक महिला टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बेड खोज्दै भौतारिरहेकी थिइन् । उनिसँगै अस्पतालका चिकित्सक, उनकी छोरी र एम्बुलेन्स चालकले पनि आफुले चिनेजानेका सबै अस्पतालमा फोन गरिरहेका थिए । तर, कसैले पनि बेड भेट्टाउन सकिरहेका थिएनन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

महिलाका श्रीमान आकस्मिक कक्षमा सुताइएका थिए । उनको अवस्था गम्भिर थियो भने अक्सिजन लेभल ४० प्रतिशतमा झरेको अस्पतालले जानकारी दियो । ‘बैशाख ४-५ गतेदेखि बिरामी हुनुहुन्थ्यो, तर यस्तो साह्रो भएको थिएन । ११ गतेबाट अवस्था बिग्रीयो । सोही दिन बिहान ४ बजे ग्रिन सिटी हस्पिटल लगियो’, उनले भनिन्, ‘त्यहाँ उपचार नहुने भएपछि चिरायु अस्पातल लगियो र त्यहाँ टेस्ट गर्दा कोभिड पुष्टि भयो ।’

अस्पतालको सुझावअनुसार परिवारले उनलाई घरमै ल्याएर अक्सिजन दिए । तर, अवस्थामा सुधार आएन । झन् गाह्रो हुँदै गरेपछि सोमबार बिहान अस्पताल खोज्नतिर लागे आमाछोरी । तर, भर्ना पाउनै मुस्किल । लगत्तै उनले वडाध्यक्षलाई फोन गरिन् । वडाध्यक्षले एम्बुलेन्स पठाए । बुढानिलकण्ठस्थित हात्तीगौंडाबाट टेकु ल्याइयो । उनिजस्तै कोरोना संक्रमितले राजधानी मै भेन्टिलेटर पाउन निक्कै सकस व्यहोर्नुपर्छ ।

राजधानीका हरेक कोभिड अस्पतालमा उपत्यका भित्र र बाहिरबाट दैनिक तीन देखि चार दर्जन फोनहरु आउँछन् । वीर अस्पतालका कोभिड संयोजक डा. अच्युतराज कार्कीले पनि केही दिनयता जटिल संक्रमितका लागि आइसियू बेड चाहिने भन्दै फोन आउने गरेको सुनाए । उनले धेरै फोन आउने भन्दै भने, ‘रातरात फोन आउँछ । कुनै काठमाडौंबाट र कुनै बाहिरबाट पनि हुन्छ । आइतबार रातिमात्र चार जनाले आइसियूका लागि फोन गर्नुभएको थियो ।’

उनले आइसियूका लागि तारान्तार फोन आएपनि बेड उपलब्ध गराउन भने नसकिएको दुखेसो पोखे । राजधानी बाहिर रहेकालाई सकेसम्म उतै बेड मिलाउन आग्रह गरेको पनि सुनाए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, ‘आइतबारमात्र मलाई झन्डै चालिस जनाले आइसियूका लागि फोन गर्नुभयो । तर अस्पतालमा राख्ने ठाउँ छैन ।’ काठमाडौंसहित उपत्यका बाहिरबाट पनि आइसियू बेडका लागि फोन आउने गरेको भन्दै उनले अब अस्पतालले धान्न नसक्ने जनाए ।

बाँके, रुपन्देही र पर्साको अवस्था त झन् भयावह रहेको छ । यी जिल्ला उपतयकापछि सबैभन्दा बढि प्रभावित हुन् । त्यहा अक्सिजनको पनि अभाव हुने अवस्थामा पुगेको स्थानीय सरकारले नै जानकारी दिएका छन् । स्थलगत रुपमा भेन्टिलेटर नभेटिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा जारी गर्ने बुलेटिनमा भने राजधानीमा मात्रै २१६ वटा भेन्टिलेटर खाली भएको देखाउछ । मन्त्रालयका अनुसार देशभर रहेका ४८३ भेन्टिलेटरमध्ये केवल ७८ वटामा मात्रै संक्रमित छन् । आईसीयुको अवस्था पनि त्यस्तै छ । १ हजार १७१ आईसीयु रहेकोमा २६८ वटामा संक्रमित रहेको जनाएको छ ।

संक्रमण दर उच्च रहेको पर्सामा पछिल्लो समयमा कोरोना संक्रमितको उपचारका लागि बेड अभाव भएको छ । नारायणी अस्पतालको आकस्मिक विभागको एउटै बेडमा तीन–तीन जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ । संक्रमित उपचारका लागि नारायणी अस्पतालले आकस्मिक विभागको एकापट्टि आइसोलेसन वार्ड र अर्कोपट्टि आकस्मिक कक्ष सञ्चालनमा ल्याएको थियो । तर, अहिले संक्रमित संख्या बढेपछि आकस्मिक कक्षमा आएका कोरोना शंकास्पदलाई पनि संक्रमितसँगै राखेर उपचार थालिएको छ ।

पछिल्लो समय कोरोनाको नयाँ प्रकार (भेरियन्ट) नेपालमा पनि तीव्र फैलिएपछि अस्पतालमा जटिल संक्रमितहरू भर्ना हुने क्रम बढेको हो । चैत महिनाअघि छिटफुटमात्र संक्रमित रहेको अस्पताल अहिले संक्रमितले भरिएका छन् । अब थप संक्रमितलाई कसरी भर्ना गर्ने भनेर अस्पताल दोधारमा छन् । केहीले ‘नन कोभिड’ सेवालाई घटाएर कोभिड सेवा बढाउन प्रयत्न गरिरहेका छन् । नयाँ भेरियन्ट पहिलेको भन्दा कडा रहेका कारण पनि जटिल संक्रमितहरू बढेको चिकित्सकहरू बताउँछन् ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८०६:४६

भेरी अस्पतालमा उपचाररत संक्रमित भन्छन् – ‘बेड नपाएर एउटै बेडमा दुईजना सम्म बस्नुपरेको छ’