भेरी अस्पतालमा उपचाररत संक्रमित भन्छन् – ‘बेड नपाएर एउटै बेडमा दुईजना सम्म बस्नुपरेको छ’

नेपालगन्ज – नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ। खाली नहुँदा मैले बेड पाइनँ। अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने।

तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजोअस्तिसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भए पनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिएँ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल बताउँछन्।

‘सेतो कपडा (पिपिई) लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, उनीहरू लास उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदाल्याउँदै मरेपछि बाटाबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने। कोभिड वार्डमा रहेका थोरै संख्याका स्वास्थ्यकर्मीले बिरामीलाई गरेको नियमित हेरचाह र सेवा अविस्मरणीय रहेको हिमलालले सुनाए। उनले भने, ‘साना नानीहरू धेरै मेहनती रहेछन्, उनीहरूले गरेको सेवा देख्दा गज्जब लाग्यो।’

भेरी अस्पतालकै कोभिड वार्डमा नेपालगन्ज–२ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर डाँगी पनि कोभिडसँगै लडिरहेका छन्। उक्त वार्डको १६ नम्बर बेडमा उपचाररत उनलाई कोरोना संक्रमणका कारण छातीमा इन्फेक्सन भएको छ। यसले गर्दा नियमित रूपमा अक्सिजन चढाइरहनुपर्छ। ५५ वर्षीय चित्रबहादुरको स्याहारसुसारमा उनकी पत्नी दिनरात खटिरहेकी छन्। तीन दिनदेखि उपचार गराइरहेका उनको स्वास्थ्यमा केही सुधार आएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८०७:००

कोरोना संक्रमणको चक्र नरोकेमा भयावह अवस्था आउने खतरा, त्यसकै लागि निषेधाज्ञा !