समाजसँग नहारेकी उनी कोरोनासंग हारिन्, संसारबाटै बिदा भइन् !

नेपालगन्ज – राजनीतिमा सक्रिय रहेका उनका श्रीमानकाे अल्पायुमै निधन भयो। त्यसपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनी निवासी मोहम्मदी सिद्धिकीका संघर्षका दिनहरू सुरु भए। श्रीमानकाे प्रेरणाकै कारण उनले समाजसेवा र राजनीतिको बाटो रोजेकी उनलाई त्यो बाटोमा हिँड्न उनलाई त्यति सहज चाहिँ भएन। जब उनी बाहिर निस्कन खोज्थिन्, परिवारले घरभित्रै आफ्नो बन्धनमा राख्न चाहन्थ्यो। घर र समाजभन्दा बाहिर निस्केपछि इस्लाम धर्मको ‘खिलाप’ हुने परिवारको बुझाई थियो। तर, घर परिवारको यस्तो बुझाई धेरै दिन टिकेन। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

निकै संघर्षपछि उनी २०४९ सालमा परिवार र समुदायको बन्धनबाट बाहिर निस्कन सफल भइन्। श्रीमान्ले छाडेर गएका अधुरो काम पूरा गर्नकै लागि राजनीति र विशेष गरी मुस्लिम महिलाको अधिकारका लागि समाजसेवालाई सँगै अगाडि बढाइन्।

मानव अधिकार र समाज सेवाको क्षेत्रबाट उनले आफ्नो नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म लेखाउन सफल भइन्। राजनीतिक यात्राबाट वडाध्यक्ष, उप–मेयरको उम्मेदवार हुँदै संविधानसभा सदस्य जस्तो गरिमामय पदमा पुगिन्। तर, उनले विश्वव्यापी रूपमा नयाँ भेरियन्टका रूपमा फैलिएको कोरोना महामारीलाई भने जित्न सकिनन्। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी साढे ७ बजेतिर उनको निधन भयो।

मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन। परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन्। राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्न सुरु गरेकी थिइन् उनले। ‘घरपरिवार र समाजबाट बाहिर आउन नमिल्ने मान्यता थियो, म बाहिर आएर केही गर्न चाहन्थ्ये, त्यसमा सासुको सहमति पाउन गाह्रो हुन्थ्यो, तरपनि म परिवारबाट बाहिर निस्कन सफल भएँ र समुदायमा पनि छिर्न सकेकी हुँ,’ उनले केही समयअघि नागरिकसँग यही कुरा भनेकी थिइन्।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८०८:०५

पौडेलको आफ्नै मन्त्रीलाई चक्मा दिए !