“नेइमार जस्तो खेलाडी कोहि पनि छैन, उनलाई प्रशिक्षण गर्न निकै सजिलो छ”

पीएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो आफूले ब्राजिलियन सुपरस्टार नेइमारलाई प्रशिक्षण गर्न पाएकोमा निकै खुसी रहेको बताउँछन्। उनले स्टार स्ट्राइकर फुटबल जगतको एक ठूलो नाम भएता पनि नेइमारको सबैसँग राम्रो व्यवहार गर्ने र प्रशिक्षकको सल्लाह सुझाव सधैं मान्ने व्यक्तित्व रहेको बताए।

पीएसजीमा रहेका सबैभन्दा ठूला सुपरस्टार नेइमार क्लब र राष्ट्र दुबैको लागि एक अत्यन्त महत्वपूर्ण खेलाडी हुन्। तर उनका क्लब प्रशिक्षकका अनुसार उनलाई व्यवस्थापन गर्न भने निकै सजिलो रहेको छ। “नेइमारको सन्दर्भमा उनलाई सम्लाहन निकै सजिलो छ किनकि त्यसको लागि तपाईंले धेरै चीज गर्नु पर्दैन,” पीएसजी कोचले द गार्जियनसँग भने,”पहिलो दिनबाट नै उनी निकै खुल्ला छन्। सधैं काम गर्न मन पराउँछन्, सबै सल्लाह र सुझाव लिन्छन्।”

नेइमारका साथै उनले ब्राजिलियन खेलाडीहरुको पनि खुलेर तारिफ गरेका छन्। ब्राजिलियन खेलाडीहरुमा केहि कुरा अरु भन्दा निकै विशेष हुने उनको बुझाई छ। ब्राजिलियन खेलाडीहरुलाई फुटबल खेल्नु नृत्य गरेको जस्तो लाग्ने र अत्यन्त सुन्दर शैलीले खेल्ने गरेको उनी बताउँछन्। आफ्नो खेलजीवनमा पीएसजी मै रोनाल्डिन्होसँग खेल्नु पाएका पोचेटिनो अहिले पीएसजी मै नेइमारलाई प्रशिक्षण गर्न पाएकोमा निकै सन्तुष्ट छन्।

पीएसजीले आउँदो बिहिबार च्याम्पियन्स लिगको सेमी-फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दैछ। उक्त खेलमा स्टार स्ट्राइकर किलियन एम्बापे चोटका कारण हुने वा नहुने निश्चित नहुँदा नेइमार फ्रेन्च च्याम्पियनको लागि निकै महत्वपूर्ण खेलाडी हुनेछन्।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१०:३९

रोमाञ्चक मोडमा ला लिगा, कसले मार्ला बाजी ?