एजेन्सी – पीएसजी माउरिसिओ पोचेटिनोले नेयमारलाई प्रशिक्षण(कोच) गर्न धेरै नै सहज रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पोचेटिनोले नेयमारलाई कोच गर्न धेरै नै सहज रहेको र उनीसँग काम गर्न पाउनु खुशीको कुरा रहेको बताएका हुन्।
पोचेटिनोले नेयमार नम्र रहेको मात्र बताएनन्, नेयमार दिएका सम्पूर्ण निर्देशन पालना गर्न व्यक्ति रहेको पनि बताए। प्रशिक्षकका रुपमा आफूले दिने निर्देशनहरूलाई नेयमारले सहज रुपमा लिने पोचेटिनोको भनाई छ।
“नेयमारसँग काम गर्न धेरै सहज छ। किनभने, उनलाई धेरै भनिरहनुपर्दैन।”,पोचेटिनोले भने,”पहिलो दिनदेखि नै उनी काम गर्न धेरै खुला छन्। उनी एकदम नम्र पनि छन्, उनी राम्रोसँग सुन्छन् र दिएका निर्देशन राम्रो तरीकाले स्वीकार गर्छन्।”
पोचेटिनोले ब्राजिलियन खेलाडीहरूमा छुट्टै विशेषता हुने बताए। उनका अनुसार ब्राजिलियनहरु नाचे जस्तै फुटबल खेल्छन्। फुटबलमा रमाउने हुँदा ब्राजिलियनहरुलाई कोच गर्न सहज हुने उनले बताए। यो कुरा नेयमारमा पनि लागू हुने उनको भनाई छ।
उनले भने,”ब्राजिलका खेलाडीहरू भित्र विशेष कुरा हुन्छ। उनीहरू फुटबल खेल्न धेरै नै मन पराउँछन्। उनीहरू नाचे जस्तै खेल्छन्। रोनाल्डिन्हो मेरो टोलीका साथी थिए जब म पीएसजी खेलाडी थिएँ। अहिले नेयमार छन्।”