एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व उपाध्यक्ष जोर्डी मेस्ट्रेले लियोनेल मेस्सी बार्सिलोनामै रहने दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मेस्ट्रेले मेस्सी बार्सिलोनामै रहने दावी गरेका हुन्।
मेस्ट्रेले आर्थिक पक्षका कारण मेस्सीले बार्सिलोना नछाड्ने बताए। उनका अनुसार यदि मेस्सीले बार्सिलोना छाडिहाले भने त्यस पछाडी आर्थिक कारण नहुने बताए। पैसाका कारण मेस्सीले बार्सिलोना नछाड्ने उनको दावी छ। उनले भने,”मेस्सी बार्सिलोनामै रहनेछन्। यदि छाडिहाले भने त्यो पैसाका लागि हुनेछैन।”
क्लवमा राम्रा खेलाडीहरु रहेको र त्यसले राम्रो वातावरण सिर्जना गरिरहेको मेस्ट्रेले जानकारी गराए। आगामी सिजनहरुमा बार्सिलोना सफल हुने आधार तयार हुँदै गएको मेस्ट्रेको भनाई छ।
“मेस्सीको वरिपरि प्रतिभाको कमि छैन र उनी राम्रा खेलाडीले घेरिएका छन् भन्ने कुराको प्रत्याभूत गराउन क्लब लागिपरिरहेको छ।”,उनले भने,”बार्सिलोना बलियो र प्रतिस्पर्धी छ भन्ने कुरा क्रमिक रुपमा प्रमाणित हुँदैछ र त्यसले मेस्सीलाई क्लबमै अड्याउनेछ।”
आउने समयका लागि बार्सिलोनाले मेस्सीलाई नै मूख्य व्यक्तिको रुपमा हेरेको र उनकै वरिपरी हुनेगरि योजना बनाएको मेस्ट्रेले बताए। मेस्ट्रेले पछिल्लो समय बार्सिलोनामा चलिरहेको आर्थिक समस्या बारे पनि टिप्पणी गरेका छन्। आर्थिक समस्याले क्लबलाई समस्यामा पारेको भएपनि थप लगानी भित्र्याउने प्रयासहरु भइरहेको उनको भनाई छ।