घरेलु मैदानमा चेल्सीसँग बराबरीमा रोकियो रियल !

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।

रियलले एक गोलले पछि परेको अवस्थामा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो । रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा चेल्सीका क्रिस्टियन पुलिसिसले गोल गर्दा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १०औं मिनेटमा टिमो वेर्नरको हाफ भली प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्दा चेल्सी अग्रता लिनबाट चुक्यो । खेलको १४औं मिनेटमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १–० को अग्रता लिएको थियो । उनले एन्टेनियो रुडिगरको पासमा गोलरक्षक अघि बढेको अवस्थामा पोस्टमा दुई डिफन्डर बीचबाट गोल गरेका थिए ।

२३औं मिनेटमा करिम बेन्जेमाको प्रहार पोस्टमा लागेर बाहिरिदा रियल बराबरीबाट चुक्यो । २९औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्सेलोको क्रसमा क्यासमिरो र इडर मिलिसाओले हेडरमार्फत मिलाइदिएको पासमा बेन्जेमाले गोल गर्न सफल भएको थियो ।

४८औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई ब्राजिली डिफेन्डर इडर मिलिसाओले ब्लक गर्दै रियलको संकट टारे । ७९औं मिनेटमा हाकिम जियाचको प्रहारलाई कोर्टुवाले सहजै नियन्त्रणमा लिए । ८८औं मिनेटमा टोनी क्रुसको झन्डै २५ यार्ड टाढाको प्रहार एङ्गोलो कान्टेलाई डिफ्लेक्ट हुदै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । लगत्तै क्रुसकै कर्नरमा राफयल भरानको हेडरलाई बेन चिलवेलले बचाए ।

इडेन हाजार्डले आफ्नो पुर्व क्लबविरुद्ध खेलेपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनी ६६ औं मिनेटमा भिनिसियस जुनियरएको स्थानमा मैदान छिरेका थिए ।

यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा चेल्सीलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइन्लमा प्रवेश गर्नैछ । रियललाई कम्तीमा पनि १–० को जितको खाँचो छ । दोस्रो लेग चेल्सीको मैदानमा ६ मेमा हुनेछ ।

प्रकाशित : बुधबार, बैशाख १५, २०७८०९:०८

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, म्याड्रिडमा खुशियाली !