कोरोना संक्रमणको स्रोत ‘विवाह’ !

घटना–१
वैशाख १० गते छोराको विवाह आयोजना गरी घरमै भोज आयोजना गरेको पनौती नगरपालिका–१० खोपासी घर भएकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वैशाख १५ गते राति उपचारका क्रममा निधन भयो । विवाहमा सहभागीमध्ये ३० जना संक्रमित भए । थप केहीको परीक्षण हुँदै छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

घटना–२

बनेपा नगरपालिका–४ घर भएका एक युवाले वैशाख १० गते सिन्धुपाल्चोकमा विवाह गरे । वैशाख ११ गते पाटी प्यालेसमा भोज गरे । वैशाख १२ गते श्रीमतीको नागरिकता बनाउन धुलिखेल पुगे । तीन घण्टाको भीड छिचोल्दै नागरिकता लिएर घर आए । १३ गते कलंकीस्थित म्यानपावर कम्पनीमा पुगे । लगत्तै स्टार अस्पतालमा ७ घण्टा लाइन बसेर स्वाब दिएर घर फर्किए । मोबाइलमा म्यासेज आयो पोजेटिभ । १४ गते बहराइन जाने उनको भिसा रोकियो । उनको सम्पर्कमा आएका छिमेकीहरु केहीलाई संक्रमण देखिएको छ ।

घटना–३

बनेपा नगरपालिका–४ का एक युवा वैशाख १२ गते बनेपाको पाटी प्यालेसमा आयोजना भएको विवाहको भोजमा सहभागी भए । लगत्तै उनलाई ज्वरो आयो । काठमाडौंको स्टार अस्पतालमा पुगेर कोरोना परीक्षण गराए । पोजेटिभ भएको रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसे । उनीसँगै विवाहमा भोज खान लाइन बसेका वा उनले भेटेका कति संक्रमित भए खोजी भएको छैन ।

घटना–४

बनेपा नगरपालिका वडा नम्वर ३ र ४ मा मात्रै १० घर–परिवारमा कोरोना संक्रमण देखिएको छ । स्थानीय सरकारले सम्पर्कका आधारमा परीक्षण गर्ने र संक्रमण फैलन नदिन रोकथामका कुनै उपाय अपनाएको छैन । दैनिक विवाह र विवाहका भोजमा सहभागी हुने क्रम बढेको छ । विवाहमा सहभागी हुनेहरुमा संक्रमण देखिए पनि पाटी प्यालेसमा हुने भीडभाड कम भएको छैन ।

घटना–५

वैशाख ९ गते पाँचखाल कोशिदेखा घर भएका २४ वर्षीय युवकमा संक्रमण देखियो । ११ गते विवाहको तयारी गरेका युवकका घरमा पाहुना चिन्तित देखिए । परिवारका सदस्यहरुलाई पनि संक्रमण देखियो । युवक अस्पतालमा उपचारार्थ छन् ।

घटना–६

आमालाई निमोनियाको शंका लागेर धुलिखेल अस्पताल पुगेका बनेपा नालाका युवकले अस्पतालकै दुई थरीको रिपोर्टका कारण दुःख पाएको बताउनुभयो । अस्पतालबाटै आमालाई संक्रमण भएको र अन्य व्यक्तिमा पनि संक्रमण फैलिएको उहाँको गुनासो छ ।

यी प्रतिनिधिमूलक घटना हुन् । विवाहकै कारण समुदायमा संक्रमण दु्र्रत गतिमा फैलँदै गएको घटनाहरुले पुष्टि गरेका छन् । आज वैशाख १७ गते शुक्रबार जिल्लाका १३ वटै स्थानीय तहमा झन्डै ५० भन्दा धेरै विवाह आयोजना हुँदै छन् । स्थानीय सरकार विवाहमा भीडभाड नगर्न, सुरक्षाका उपाय अपनाउन अनुरोध गर्नेबाहेक थप तयारीमा छैनन् । संक्रमण रोग नियन्त्रण ऐनअन्तर्गत यस्ता गतिविधि गर्नेहरुलाई कारबाही गर्न सक्ने भए पनि स्थानीय सरकार त्यसतर्फ चासो नदिई आफैं विवाहमा सहभागी भई बधाई तथा शुभकामना दिन व्यस्त छन् ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८०७:५९

देशका सातै प्रदेशमा बन्ने भयो स्मार्ट सिटि ! कहाँ-कहाँ ?