लुम्बिनी प्रदेश जसपाभित्र भाँडभैलो

बुटवल । जनता समाजवादी पार्टी (जसपा) भित्र सरकारको विषयलाई लिएर लुम्बिनी प्रदेशमा भाँडभैलो भएको छ । सरकारमा सहभागी आफ्ना चार सांसदलाई उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले पदमुक्त गरेपछि विवाद थप चुलिएको हो ।

सो पक्षको पत्रका आधारमा प्रदेश संसद सचिवालयले सरकारमा सहभागी भएका चार सांसदलाई विहिवार पदमुक्त गरिदिएको छ । जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निस्कासनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् ।

ती निलम्बित सांसदहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् । पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेको भन्दै जसपाको लुम्बिनी प्रदेश संसदीय दलले वैशाख ७ गते कारबाही प्रक्रिया अघि बढाएको थियो । जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

लुम्बिनी प्रदेश सरकार र मन्त्रिपरिषद्प्रति विश्वास छैन भन्ने जसपाको लुम्बिनी प्रदेश समितिको चैत २६ को बैठक निर्णय र वैशाख ६ गतेको संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको निर्णय किन उल्लंघन गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ (क) र २ बमोजिम ह्विप उल्लंघन किन गरेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको थियो ।

प्रदेश सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३(१) बाट निर्वाचित सदस्य पाण्डेय, बाँके क्षेत्र नं. २(१) बाट निर्वाचित सदस्य यादव, समानुपातिक बन्दसूचीबाट निर्वाचित सदस्य रायमाझी र पाण्डेलाई प्रदेश सभा सदस्य र पार्टी सदस्य पदबाट निष्कासन गरेको व्यहोरा जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले बिहीबार प्रदेश सभा सचिवालयमा जानकारी गराएपछि उनीहरुलाई निस्काशन गरिएको सचिवालयको सूचना पाटीमा टाँस गरिएको छ ।

यता, जसपाका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् । उनले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् । जसपा संसदीय दलका ६ सदस्यमध्ये ४ सदस्य सरकारको पक्षमा लागिसकेका छन् ।

जसपा कार्यकारिणी समितिले कारवाही गरेको भनेर सूचनामा उल्लेख भए पनि यसबीच कार्यकारिणी समितिको बैठक नै नबसेको नेता राजेन्द्र महतोले जानकारी दिए । ‘कारवाहीको कुरा सबै फर्जी काम भएको छ, फर्जी कामलाई सभामुखले मान्यता नदिनुपर्ने हो, हामी छलफल गर्छाैं’, नेता महतोले भने । यो प्रकरणसँगै जसपाको केन्द्रमा समेत विवाद थप चर्किने निश्चित देखिएको छ । सरकारकै विषयलाई लिएर पार्टी फुटसम्म पुग्न सक्ने जसपाकै कतिपय नेताहरुले दाबी गर्दै आईरहेको छन् ।

४ सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत हुने देखिएको छ । कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद छन् । माओवादीका २ सांसद यसअघि नै पदमुक्त भएका छन्, बिहीवार जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् । मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश सभामा बहुमतका लागि ४१ मत चाहिन्छ । अब त्यो संख्या एमाले एक्लैसँग पुग्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेल ढुक्क देखिएका छन् । प्रदेश सभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका ६ (कारवाही गरिएका सांसदसहित) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । कारवाहीले मान्यता पाए जसपाका २ सांसद बाँकी रहन्छन् ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८०८:४६

११ वर्षीय बालिकाको १४ वर्षको किशोरसँग ‘लभ’ परेपछि ..