काठमाडौँ – बच्चा चोर्दै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भद्रपुरमा बच्चा चोर्दै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
पक्राउ पर्नेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई भद्रपुर नगरपालिका-८ घोडामाराबाट पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।
बच्चालाई बोरामा हाल्न खोज्दै थिए
आइतबार बिहान भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमन घरनजिकै खेलिरहेका थिए। त्यसक्रममा ती व्यक्तिले सुमनलाई बोरामा हालेर लैजाने प्रयास गरेका थिए। जसक्रममा स्थानीयले देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।
नेपाली भाषा बोल्न जान्दैनन्
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरमा छन्। उनले बोलेको भाषा समेत नबुझिने र मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने डिएसपी राकेश थापाले बताए।
उनी भारतीय हुन् वा नेपाली त्यो पनि खुल्न नसकेको प्रहरीले जनाएको छ। स्थानीयहरुले ती व्यक्ति भारत देखि आएको हुन सक्ने आशंका गरेका छन्। ती व्यक्तिलाई यस अगाडी कहिले पनि नदेखेको स्थानीयहरुले बताए।

