काठमाडौँ, बैशाख १९ । कोरोना भाइरस संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन ।
शाहलाई श्वासप्रश्वासमा समस्या देखिएको र अक्सिजनको समेत कमि देखिएपछि बुधबार बेलुका आइसियूमा सारेर हाई फ्लो अक्सिजनको सपोर्टमा उपचार थालिएको थियो। आइसियूमा राखेर प्रतिमिनेट ८-१० लिटरसम्म अक्सिजन दिदा पनि सुधार नभएपछि बिहिबार उनलाई प्लाज्मा दिइएको थियो। प्लाज्मा दिदा पनि स्वास्थ्यमा सुधार नआएपछि शाहलाई पहिले जस्तै प्रतिमिनेट ८-१० लिटरसम्म अक्सिजन दिइरहेको छ।
नर्भिकका अस्पताल स्रोतको अनुसार पूर्वरानी शाहको स्वास्थ्य स्थिर र गम्भीर रहेको छ। शाहको स्वास्थ्यमा अकुनै कुनै पनि सुधार आएको छैन। कोमललाई तल्लो तलाको आइसियूमा राखिएको छ भने ज्ञानेन्द्र शाह र प्रेरणा शाह पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन्।
कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ७ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाह भर्ना भएका थिए । त्यस्तै ज्ञानेन्द्र शाह पनि अक्सिजनकै सामान्य सपोर्टमा छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य छ र छोरी प्रेरणालाई भने अक्सिजन दिनु परेको छैन। शाह दम्पत्तीलाई भारतको हरिद्वारबाट फर्किएलगतै कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा केही दिन होम आइसोलेसनमा बसेर बैशाख ७ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।

