पछि परेको अवस्थामा मेस्सी र ग्रिजमन मिलेर पासा पल्टाए, बार्सिलोनाको पूनरागमन जित !

एजेन्सी – कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकालेको छ ।

बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लाेस सोलेरले गोल फर्काए । सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो

भ्यालेन्सियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५०औं मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले कार्लाेस सोलेरको पासमा गोल गरेका थिए । तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । एक गोलले पछि परेपछि बार्सिलोनाले १२ मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो ।

मेस्सीको चिप प्रहारलाई टोनी लाटोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ५७औं मिनेटमा मेस्सीले पेनाल्टी चुकाएपनि त्यसमै रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । मेस्सीको पेनाल्टीलाई जस्पर सिलेसनले बचाउँदा रिवाउन्डमा सर्जियो बुस्क्वेट्सले क्रस गरेको बललाई पेड्रीले प्रहार गर्दा गाब्रियलले गोल लाइनबाट बचाएपनि रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए ।

६३औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्ता दिलाए । जोर्डी अल्वाको क्रसमा फ्रान्की डि योङको हेडरलाई गोलरक्षक जस्पर सिलेसनले बचाएपनि रिवाउन्डमा ग्रिजमनले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए ।

पेनाल्टी बक्सबाहिर सोलेरले मेस्सीलाई फल गरेपछि बार्सिलोनाले फ्रिकिक पाएको थियो । झन्डै २० यार्ड टाढाको मेस्सीको फ्रिकिकलाई गोलरक्षक जस्पर सिलेसनले रोक्ने कुनै मौका नै पाएनन् । ८३औं मिनेटमा कार्लाेस सोलेरले क्रिपस्टयन ओलिभाको पासमा गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

भ्यालेन्सियामाथिको पूनरागमन जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोनासँगै सेभिया रहेका छन् ।

३४ खेलबाट ७४ अंक जोेडेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा २ अंकले पछि छ । शीर्षस्थानको एट्लेटिकोको ७६ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक बराबरी भएपनि हेड टु हेडमा पछि छ । पराजित भ्यालेन्सिया ३६ अंक जोडेर १४औं स्थानमा छ ।

ला लिगामा अब चार राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले एट्लेटिको म्याड्रिड, लेभान्टे, सेल्टा डि भिगो र एइवरसँग खेल्न बाँकी छ ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८०९:३२

पेनाल्टीमा फेरी यसरी चुके मेस्सी ! [भिडियो सहित]