कोरोना संक्रमणबाट निधन हुनेमा नयाँ रेकर्ड, हरेक ३९ मिनेटमा जाँदैछ संक्रमितको ज्यान !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा एकै दिन हाल सम्मकै धेरै व्यक्तिको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा गएको २४ घण्टामा ३७ जनाको ज्यान गएको छ। यो संख्या हाल सम्मकै उच्च हो। कोरोना संक्रमण शुरु भएयता कुनै पनि दिन यति धेरै संख्यामा संक्रमितको ज्यान गएको थिएन।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको ज्यान गएको छ। यससँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ। यस हिसाबले नेपालमा हरेक ३९ मिनेटमा एक संक्रमितको निधन भइरहेको छ।

काठमाडौँ उपत्यकामा मात्रै ३६ सय बढी संक्रमित

सोमबार काठमाडौँ उपत्यकामा मात्रै ३६ सय भन्दा बढी संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला गरी तीन जिल्लामा मात्रै ३ हजार ६ सय ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५ सय २२ जनामा कोरोना भाइरस संक्रमणको पूष्टि भएको छ।

देशभर ७ हजार बढी संक्रमणको पुष्टि

सोमबार नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१८:०१

पशुपतिमा बढ्न थाल्यो कोरोना संक्रमितको शव, दिनकै आउछ यति धेरै शव!