म्यानचेस्टर सिटी र पीएसजी भिड्दै ! कसले मार्ला बाजी ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गदैछ ।

खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा म्यानचेस्टर सिटी पीएसजीलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । पहिलो लेगमा २–१ को अवे जित पाएको सिटीलाई फाइनलमा प्रवेश गर्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । पीएसजीसँग १–० को हारले पनि सिटी फाइनलमा पुग्नेछ ।

अवे दुई गोल र घरेलु मैदानमा हुने खेलका कारण सिटी उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । टोलीसँग केभिन डि ब्रुयन, रियाद महारेज, फिल फोडेन, रोड्री, इल्केए गुन्डोगान, बर्नार्डाे सिल्भा, रुवेन डियास, जोन स्टोन्स, केल वाल्कर, जोओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यस्तै सर्जियो अगुइरो, गाब्रियल जेसस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, नाथन एके, एमेरिक लापोर्टा र बेन्जामिन मेन्डीपनि टोलीमा रहेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । आफ्ना खेलाडीहरु संयमित भएर मैदान उत्रनुपर्ने र खेलाडीहरुले यो ठूलो लडाइँ हो भनेर बुझ्न जरुरी रहेको प्रशिक्षक ग्वार्डिओलाले बताएका छन् । उनले पिएसजी निकै कठिन प्रतिस्पर्धी रहेको समेत बताएका छन् ।

ग्वार्डिओला सन् २०१६ यता म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका छन् । उनको प्रशिक्षणमा सिटीले दुईपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ । अहिले तेस्रो उपाधिको संघारमा छ । तर, सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । अहिलेसम्म सिटी फाइनलमा पनि पुग्न सकेको छैन । ग्वार्डिओलालेले स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिग जितेका थिए ।

यता, साविक उपविजेता पीएसजी पनि घरेलु टोलीलाई पराजित गर्दे लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दाउमा हुनेछ । घरेलु मैदानमा पहिलो लेगमा सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा पीएसजी पहिलो लेगमा पछि परेको थियो । पीएसजीलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । पीएसजी पूनरागमनमा विश्वास गर्दै फाइनल पुग्ने दाउमा छ ।

टोलीसँग ब्राजिली फरवार्ड नेयमार, फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे, एन्जल डि मारिया, मार्काे भेराट्टी, ड्यानियल पारेडेस, कप्तान मार्किन्हस, प्रेसनेल किमपेम्वे, एब्डोउ डियालो, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभास छन् । यस्तै पाब्लो साराविया, मोउरो इकार्डी, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, थिलो केरहर, एन्जल हेरेरा, राफिन्हा र मोइस किन पनि टोलीसँग छ । प्रतिबन्धका कारण इड्रिसा गाना गेये टोलीमा हुनेछैनन् ।

यि दुई टोलीको पछिल्लो तीन भेटमा सिटी दुई खेलमा विजयी भएको छ । पीएसजीले जित हात पार्न सकेको छैन । पछिल्लो दुई खेलमा सिटीले २–१ र १–० को जित निकाल्दा अर्काे खेल २–२ गोलको बराबरीमा सकिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१६:१६

कोरोनाबाट क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन!