अहिले सम्मकै बढी संक्रमित भेटिए, मृत्युमा पनि नयाँ रेकर्ड !

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्या दिनहुँ जस्तो उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

आज देशभर आठ हजार ६५९ मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । मंगलबार(वैशाख २१ गते) सात हजार ६६०, सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।

आज २० हजार ७५६ पिसिआरमा आठ हजार ६०५ र ६१६ एन्टिजेनमा ५४ मा सङ्क्रमण देखिएको हो । आज देखिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित ३ लाख ५९ हजार ६१० पुगेको छ । यस्तै आज एक हजार ९९३ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८८ हजार ७८३ निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८०.६ प्रतिशत छ ।

५८ को निधन

आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५८ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४७५ सङ्क्रमणबाट निधन भइसकेका छन् ।

उपत्यकामा एकैदिन थपिए ३८ सय बढी कोरोना संक्रमित

आज काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना गरी ३ हजार ८२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आज काठमाडौँ उपत्यकामा मात्रै १५ जनाको ज्यान गएको छ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७८१७:२१

लगातार थपिँदै निषेधाज्ञा