एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)ले आगामी ट्रान्सफर विन्डोमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई प्राथमिकतामा राख्ने भएको छ। आउने जुनमा बार्सिलोनासँगको सम्झौता सकिँदै गरेको अवस्थामा पीएसजीले मेस्सीलाई प्राथमिकतामा राखेको हो।
समर ट्रान्सफर विन्डोमा मेस्सीलाई क्लबमा भित्राउने पीएसजीले योजना बनाएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटिसँग पराजित भएर बाहिरएपछि आउने सिजनमा च्याम्पियन्स लिग जित्ने पीएसजीको योजना रहेको छ।
त्यसको लागि एक विश्व-स्तरीय स्ट्राइकर, एक मिडफिल्डर र एक राइटब्याक आगामी ट्रान्सफर विन्डोमा भित्राउनुपर्ने पीएसजीका अधिकारी तथ्य प्रशिक्षकले निष्कर्ष निकालेछन्।
फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’का अनुसार मेस्सी भित्र्याउन सकिनेमा पीएसजी ढुक्क रहेको छ। मेस्सीलाई जुनै पनि हालतमा क्लबमा भित्र्याउन क्लब अहिले देखि नै लागिपरेको उक्त पत्रिकाले जनाएको छ।
मेस्सी भित्र्याउने योजना असफल भए सालाह
मेस्सी भित्र्याउने योजना असफल भएको खण्डमा पीएसजीले लिभरपुलका मोहम्मद सालाह माथि बोलि लगाउने पनि योजना बनाएको छ। क्लबलाई मेस्सी जस्तै खेलाडी आवश्यक रहेको र मेस्सी नआएको खण्डमा त्यसको परिपूर्ति सालाहले गर्न सक्ने पीएसजीको निष्कर्ष रहेको छ। साथै पीएसजीले लिभरपुलकै अर्का खेलाडी जर्जिनियो विजनाल्डम माथि पनि नजर राखेको छ।
एम्बाप्पेलाई क्लबमै अड्याउने योजना
एम्बाप्पेले पीएसजीमै रहने अथवा क्लब छाड्ने भन्ने बारे टुङ्गो लगाइसकेका छैनन् । पीएसजीले एम्बाप्पेलाई क्लबमै अड्याउन विभिन्न प्रयास गरिरहेको छ। विशेषतः पीएसजीले नेयमार, मेस्सी र एम्बाप्पेलाई एक साथ खेलाउने सपना देखिरहेको छ। उक्त सपना पूरा गर्न पीएसजी आर्थिक रुपमा जति पनि अगाडी बढ्ने बताइन्छ।

