काठमाडौं । यहाँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पार्यो। सादा पोषाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो । काठमाडौँबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म रुपमा अध्ययन गर्दा धेरै ठाउँमा यात्रुबाट बढी भाडा लिएको पाइएपछि प्रहरी त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, ‘हाम्रो अनुगमनमा यस्तोसम्म पाइयो कि लाग्ने भाडाभन्दा पाँच÷छ गुनासम्म बढी भाडा लिएका थिए ।’ यसको दरिलो उदाहरण काठमाडौँ–बुटवलको भाडा हेर्दा पुग्छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सामान्यतः छ÷सात सय भाडाले पुग्ने बुटबलका लागि छ हजारसम्म लिएको पाइएको र पोखराको भाडा तीन हजार ५०० सम्म लिएको पाइएको छ । पोखरामा हवाइजहाजमा जाँदा समेत त्यती रकम तिर्नु पर्दैन । केही अघि पक्राउ परेका पोखरा माइक्रोका कर्मचारी बन्दराज पराजुली, मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवाल विरुद्ध अहिले कानुनी प्रक्रिया अघि बढिसकेको छ ।
कोभिड १९ को महामारीका बेला यसको फाइदा उठाउँदै चरम ठगी गरेको नमूना फेला परेपछि अहिले ट्राफिक प्रहरी यातायातको ठगी विरुद्ध आक्रामक भएर लागेको छ । महाशाखाले विशेष छड्के जाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरी कानुनको कठघरामा उभ्याउँदै आएकोमा शनिबार मात्रै पनि त्यस्तै कैफियत गर्ने सात जना पक्राउ परेका छन् । ‘महामारीको यस्तो विषम परिस्थितिमा यात्रु समस्यामा पर्ने र ठगिन सक्ने कुरालाई ध्यान दिँदै टोली परिचालन गरेका हौँ, टोलीले सम्भावित त्यस्ता स्थानमा निगरानी गर्ने, आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छौ’,एसएसपी भट्टराईले भने ।
उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परी उपत्यका बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने गरेको पाइएको छ । यस्तै ठगी गर्नेमा सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने वर्ष ५३ को मनु अर्याल र उनकै छोरा वर्ष ३० को अनु अर्याल पनि छन् । नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौँडाका ३८ वर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने वर्ष ४४ का विपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौँका ज्ञानेन्द्र साह पनि अहिले प्रहरीको फन्दामा परेका छन् । उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुसँग प्रतिव्यक्ति दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । जुन तोकिएभन्दा करिब तीन गुणा बढी हो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ । गङ्गबु बसपार्कमा पनि यात्रु ठग्ने गतिविधिमा कमि आएको छैन । रुकुम जाने यात्रुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरी थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको छ । पूर्व झापा÷मोरङ्ग जाने यात्रुसँग जनही तीन हजारदेखि चार हजार ५०० सयसम्म भाडा लिने धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारीलाई कोटेश्वरबाट र दोलखा सिंगटी घर भइ भक्तपुर बस्ने वर्ष ३४ का राम सुरेललाई गौशालाबाट पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यसअघि चालक सहचालकले पैसा बढी लिएको पाइएकोमा पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफ नै बढी भाडा असुल्न उद्यत रहेको पाइएको छ । प्रहरीले निषेधज्ञा लागु भएपछि अत्याबश्यक काम विशेष र बिदेशबाट आएकासँग आफुखुसी बढी भाडा लिने १६ जनालाई कारवाहीमा परिसकेका छन् । यस्ता अवाञ्चित गतिविधि भएको पाइएमा तुरुन्त प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गरी सूचना पनि अनुरोध गरिएको छ ।

