रियल म्याड्रिड र सेभिया भिड्दै, रियल शिर्षस्थानमा उक्लिएला त ?

एजेन्सी – स्पेनिस ला लिगामा आज राति उपाधि होडमा रहेको दुई टोली रियल म्याड्रिड र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

उपाधि होडमा रहेको रियल सेभियालाई पराजित शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । शनिबार राति उपाधि होडमा रहेका एट्लेटिको म्याड्रिड र बार्सिलोनाले गोलरहित बराबरी खेलेपछि रियलले शीर्षस्थानमा उक्लने अवसर पाएको हो । सेभियालाई हराउन सके रियलले शीर्षस्थानको एट्लेटिकोसँग अंक बराबरी गर्दै हेड टु हेडमा शीर्षस्थान कब्जा गर्नेछ ।

एट्लेटिकोको ३५ खेलबाट ७७ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७५ तथा एक खेल कम खेलेको रियलको ७४ अंक छ । चौथो स्थानको सेभियाको ७० अंक छ ।

तर, सेभियाविरुद्ध रियललाई चोटले पिरोलेको छ । कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले पुन चोट बोक्दै टोलीबाट बाहिरिएका छन् । यसमा फर्लान्ड मेन्डीको नाम पनि थपिएको छ । यसअघि डिफेन्डर राफयल भरान, ड्यानी कार्भाहल र लुकास भास्क्वेज पनि चोट बोक्दै रियलको टोलीबाट बाहिर छन् । रियलसँग पहिलो रोजाइको डिफेन्स नै नरहेको अवस्था छ ।

यस्तो अवस्थाको रियलको रक्षापङ्ति इडर मिलिसाओ, नाचो फर्नान्डेस, मार्सेलो, अल्भारो ओर्डिजोला र मिगुइल गुइटेरेजले सम्हाल्नेछन् । प्रशिक्षक जिनेदिन जिदानले फेडे भाल्भेर्डेलाई डिफेन्समा खेलाउने सम्भावना पनि छ । मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, इस्को र एन्टोनिया ब्लान्को रहनेछ । अग्रपङ्तिमा करिम बेन्जेमा, इडेन हाजार्ड, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, मारियानो डियाज र रोड्रिगो गोएस विकल्पका रुपमा रहनेछन् । रियलको गोलपोस्ट थिवाउट कोर्टुवाले सम्हाल्नेछन् ।

यता, सेभिया पनि रियलको रक्षापङ्ति तोड्दै उपाधि होडमा उभिन चाहन्छ । सेभिया ३४ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रहेको छ । रियललाई हराउन सके शीर्ष चारमा स्थान पक्का गरिसकेको सेभियाले शीर्षस्थानको एट्लेटिकोसँगको अंक दुरी ४ मा छोट्याउने छ । दोस्रो स्थानको बार्सिलोनासँग २ तथा रियलसँग १ अंकले पछि पर्नेछ । बराबरी या हारले सेभियाको उपाधि यात्रा कमजोर बन्नेछ ।

टोलीसँग लुकास ओकम्पास, युसुफ इन न्यास्री, सुसो, एलेसान्द्रो गोमेज, फर्नान्डो, इभान राकिटिच, मार्काेस एकुना, डिएगो कार्लाेस, जुलेस कुन्डे, जेसस नाभास र गोलरक्षक यासिन बोनोउ रहेका छन् । यस्तै जोन जोर्डन, लुक डि जोङ, फ्रान्को भाज्क्वेज, ओस्कार रोड्रिग्वेज र ओलिभर टोरेस पनि टोलीमा छन् ।

यि दुई टोलीको पछिल्लो २७ भेटमा रियल २० खेलमा विजयी भएको छ । ६ खेल सेभियाले आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको छ। रियलले सन् २०१८ सेप्टेम्वरमा ला लिगामा ३–० ले पराजित भएयता पछिल्लो चार खेलमा सेभियालाई हराएको छ । रियल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा सेभिया रियलसँगको हारको श्रृंखला तोड्न लक्ष्यमा हुनेछ ।

प्रकाशित : आइतबार, बैशाख २६, २०७८१४:४०

युभेन्टस र एसी मिलान भिड्दै: शीर्ष चारको सम्भावनलाई थप बलियो बनाउने दाउमा युभेन्टस !