संसद् बस्नुअघि नै ओलीले अस्त्र प्रयोग गर्ने !

काठमाडौँ – कोरोना भाइरसबाट पछिल्लो समयमा दैनिक ५० जनाभन्दा बढीको ज्यान गइरहेको छ। खोप ल्याउन ढिलाइ भएको र अक्सिजनको व्यवस्थापन गर्न नसेकेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारको सर्वत्र आलोचना भइरहेको अवस्थामा संसद्मा उनलाई विश्वासको मत प्राप्त होला त भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कोतिर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त भएमा विघटन भएर चितामा पुग्न लागेको संसद् र कोरोनाका कारण चिताको ज्वालामा जलिरहेका नागरिकको आत्माले शान्ति पाउला भन्ने प्रश्न उब्जिएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

तै पनि, प्रधानमन्त्री ओली विश्वासको मत जुटाउनका लागि लागिपरेका छन्। उनले विभिन्न रणनीतिहरू अघि बढाइरहेका छन्। तर पनि प्रधानमन्त्री आफैंलाई विश्वासको मत प्राप्त हुन्छ भन्ने विश्वास नभएको स्रोतले बताएको छ। ‘प्रधानमन्त्रीले संसद्लाई पुर्‍याउन खोजेको चिताको ज्वालामा विश्वासको मत आफैं पर्दैछ वा उनले फेरि पनि संसद्लाई चितामा पुर्‍याउने छन् भन्ने कुरालाई यतिबेला सबैले महत्वका साथ हेरिरहेका छन्। संसद्मा विश्वासको मत लिनका लागि बहुमत पुर्‍याउन कठिन हुँदै जाँदा उनले आफ्नै पार्टीभित्र असन्तुष्ट रहेको माधव नेपाल समूहलाई आइतबार दिनभरि फकाउन खोजे पनि सफल भएका छैनन्।

सोमबार संसद् बैठक बस्नुअघिसम्म नाटकीय सहमति भएबाहेक ओलीलाई माधव समूहले सहयोग गर्ने अवस्था देखिएको छैन। माधव नेपाल समूहका सांसद र जसपाका ठाकुर समूहका १५ सांसदले मतदान गरेमा मात्रै ओलीले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्नेछन्। बाहिरी आवरण हेर्दा कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान दिने निर्णय गरिसकेको छ, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसपाभित्र डा. बावुराम भट्टराई, उपेन्द्र यादव समूहले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने र जसपा ठाकुर समूह तटस्थ बस्ने भएपछि अब ओली संकटमा परेको देखिएको छ।

माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो। संसद्मा बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्दछ। एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ। प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद् बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ। उनले निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको छ।

पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन्। ‘प्रधानमन्त्री ओलीको सनकको भरमा निर्णय गर्ने बानीले विश्वासको मत नलिँदै कुनै अप्रिय निर्णय गर्छन कि भन्ने आशंका रहिरहेकाले विश्वासको मत लिने दिन नआएसम्म ओलीको कुरामा विश्वास लिने ठाउँ छैन,’ माओवादी केन्द्रका एक नेताले भने। माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान गरेका छन्।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०८:१३

९ करोड बढी नाफा कमाएको कम्पनीले आईपीओ निष्कासन गर्दै !