घरेलु मैदानमै हार्यो युभेन्टस, च्याम्पियन्स लिग चिप्लिने अवस्थामा !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टसले घरेलु मैदानमा एसी मिलानविरुद्ध लज्जास्पद हार बेहोरेको छ । च्याम्पियन्स लिग स्थानका लागि निकै महत्त्व बोकेको खेलमा मिलान ३-० ले विजयी भयो ।

यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अंक रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचौ स्थानको युभेन्टसको ३५ खेलमा ६९ अंक छ ।

आइतबारको खेलमा मिडफिल्डर ब्राहिम डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले फ्रिकिकमा गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन् । रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका डियाजको गोल भीएआरले ह्यान्डबलका लागि रिभ्यु गरेपनि गोलले मान्यता पाएको थियो ।

पहिलो हाफमा घरेलु टोली युभेन्टसले बल पोसेसनमा पकड जमाएपनि आक्रमण भने बुन्न सकेको छैन । खेलको ३० औं मिनेटमा युभेन्टसले अग्रता लिने अवसर पाएपनि कप्तान किएलिनी त्यसमा सफल हुन सकेनन् । उनले जुआन क्वाडराडोको कर्नरमा प्राप्त हेडरलाई गोलको दिशा दिन सकेनन् ।

दोस्रो हाफको सुरुवाती समयमा नै मिलानले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर पाएको थियो । ५७ औं मिनेटमा डियाजको प्रहार किएलिनीको हातमा लाग्दै फर्किएपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर फ्रान्क केसीले प्रहार गरेको उक्त पेनाल्टीलाई गोलरक्षक वोजचिएक सेचेज्नीले विफल पारिदिए ।

खेलको ७८ औं मिनेटमा आन्टे रेबिचले दर्शनीय गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट उनले गरेको प्रहार टप कर्नरमा छिर्दा गोलरक्षक सेचेज्नी मुकदर्शक मात्र बनिरहे ।

त्यक्सो तीन मिनेटपछि नै मिलानले ३-० को अग्रता लियो । हाकान चाल्हानोग्लुले लिएको लामो फ्रिकिकलाई फिकायो टोमोरीले हेडरमार्फत गोल फार्दै एसी मिलानको जित पक्का गरेका थिए ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८०८:१८

सेभियाविरुद्ध कसो हारेन रियल, शिर्षस्थानमा उक्लने मौका गुम्यो !