काठमाडौँ -प्रतिनिधिसभामा नयाँ सत्ता समीकरणको साँचो बनेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। ओली नेतृत्व सरकारको पक्षमा उभिने कि विपक्षमा भन्नेमा पार्टीभित्र सहमति जुट्न नसक्दा जसपा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ रहने निर्णय गरेको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
जसपाको यो निर्णयले कुनै राजनीतिक चमत्कारबाहेक सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ। प्रधानमन्त्री ओलीकै दल नेकपा एमालेभित्रका झन्डै दुईदर्जन असन्तुष्ट नेता प्रतिनिधिसभा सदस्यबाटै राजीनामा गर्ने तयारीमा छन्।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले पनि प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सोमबार नै टुंगो लगाउने निर्णय गरेको छ। सोमबार नै विशेष अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका हुन्।
आफ्नो पक्षमा विश्वासको मत नपाउने निश्चित हुँदाहुँदै प्रधानमन्त्री ओलीले त्यसअघि नै पदबाट राजीनामा गर्नसक्ने स्रोतको दाबी छ। नयाँ प्रक्रियाका लागि बाटो खोल्नकै लागि प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको जनाउँदै उनी निकट स्रोतले भन्यो, ‘बिहानसम्मको परिस्थिति मूल्यांकन गरेर प्रधानमन्त्री निर्णयमा पुग्नुहुन्छ।’
विश्वासको मत लिनुअघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे सोमबारका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष बैठकको औचित्य सकिनेछ। त्यस्तो अवस्थामा बैठक नै नबसी अधिवेशन अन्त्य हुने जनाउँदै स्रोतले भन्यो, ‘संवैधानिक र कानुनी रुपमा प्रधानमन्त्रीलाई कुन बाटो सहज हुन्छ, त्यही बाटो रोज्नुहुन्छ।’
ओलीले विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्री पदबाट सोमबारै राजीनामा गर्नुपर्ने विपक्षीको बुझाइ छ। संसद्मा विश्वास गुमाएका प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र राष्ट्रपतिले विगतको परम्पराअनुसार संविधानको धारा ७६ अनुसार सरकार गठनका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुपर्ने बुझाइ उनीहरूको छ। संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन गर्ने व्यवस्था छ। अहिले संसद्मा कुनै दलसँग बहुमत नभएकाले राष्ट्रपतिले धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने विपक्षीको बुझाइ छ।

