काठमाडौँ – नेकपा एमालेका नेता वामदेव गाैतमले पार्टी विभिजित भएको खण्डमा माधव नेपाललाई साथ दिने भएका छन्। गौतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीका अनुसार गौतमले पार्टी विभाजित भएको खण्डमा माधव नेपाललाई साथ दिने निष्कर्षमा पुगेका हुन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नेक्रममा गौतमले २०७५ जेठ २ गते मा फर्किने आग्रह गरेको र त्यसलाई ओलीले अस्विकार गरेको सुवेदीले जानकारी गराएका छन्। त्यसको जवाफमा नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताएको सुवेदीको भनाई छ।
माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले चलाएको समानान्तर गतिविधि प्रति नेता गौतमको असहमति रहेको छ। तर माधव नेपाल पक्षले संसदको ४० प्रतिशतसहित पार्टी विभाजन गरेको खण्डमा उक्त पार्टीमा आफू सामेल हुने गौतमको विचार रहेको सुवेदीले बताए।
गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जाल यसो लेखेका छन् –
नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।
१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
२. क.माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।