काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् । उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् ।
अहिले सिमेन्ट मात्रै होइन निर्माणजन्य सम्पूर्ण सामग्रीको मूल्य बढेको छ । फलामजन्य निर्माण सामग्रीअन्तर्गत विभिन्न साइजका डन्डी, जीआई तार, ग्याल्बिन तार, पाइपलगायतका सामग्रीको मूल्यवृद्धि भएको छ भने अन्य खानीजन्य निर्माण सामग्रीको मूल्य पनि अत्यधिक बढेको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धिसँगै कृत्रिम अभाव भएपछि हाल काठमाडांै उपत्यकालगायत मुलुकभरको निर्माणका काम ठप्प भएको निर्माण व्यवसायीको गुनासो छ । महामारीको समयमा नै उद्योगी÷व्यवसायीले मिलोमतोमा मूल्यवृद्धि तथा कार्टेलिङ गरेको आरोप निर्माण व्यवसायीको छ ।
उनीहरूका अनुसार अहिले निर्माणजन्य सामग्रीको अभावसँगै फलामजन्य सामग्रीमा प्रतिकेजी २० देखि २५ रुपैयाँ र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ । यस्तो विषम परिस्थितिमा पनि निर्माणजन्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि भएपछि अस्वाभाविक रूपमा बढाइएको मूल्यवृद्धि रोक्न निर्माण व्यवसायीले केही दिन अघि वाणिज्य तथा आपूर्ति उपभोक्ता हित संरक्षण विभागलाई मूल्यवृद्धि रोक्न भन्दै ध्यानाकर्षणसमेत गराएका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोहन दाहालले यस्तो जानकारी गराएका हुन् । उनले अहिले मुलुक र सम्पूर्ण देशवासीलाई परेको यस्तो विपत्तिको विषम परिस्थितिमा सबैले मिलेर कोरोनासँग लड्दै काम गर्नुपर्ने ठाउँमा उल्टै उत्पादक र विक्रेताले कार्टेलिङ गरी निर्माणजन्य वस्तुहरूको मूल्यवृद्धिसँगै कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए ।
मुलुकको धेरै ठाउँमा निषेधाज्ञा लागू भएपछि निर्माणजन्य सामग्रीको माग पहिलेको तुलनामा केही कम भए पनि हाल यस्तो सामग्रीको मूल्य भने अत्यधिक बढेको बताउँदै महासंघका महासचिव दाहालले भने, ‘सरकारले निषेधाज्ञा लागू गर्नुअघि डन्डीको मूल्य प्रतिकेजी ८० देखि ८५ रुपैयाँ थियो । हाल प्रतिकेजी फलामे डन्डीको भाउ बढेर १ सय ७ रुपैयाँ पुगिसकेको छ ।’ अझै बढ्छ भन्ने कुरा पनि आइरहेको भन्दै उनले हाल सिमेन्टमा पनि प्रतिबोरामा २५ रुपैयाँ बढेको जानकारी दिए ।