एजेन्सी – इटालियन सिरी ए क्लब युभेन्टस लिगको शिर्ष चारमा पर्नको लागि संघर्षरत छ। घरेलु मैदानमा एसी मिलानविरुद्ध लज्जास्पद हार बेहोरेपछि युभेन्टसले शिर्ष चारमा परेर च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुन अझ बढी संघर्ष गर्नुपर्ने भएको छ।
हाल युभेन्टस सिरी एको पाँचौं स्थानमा छ। ३५ खेलबाट ६९ अंक जोडेको युभेन्टस अगाडी नापोली, एसी मिलान छन्। इन्टर मिलान सिरी ए च्याम्पियन बनिसकेको छ।युभेन्टसले तीन खेल खेल्न बाँकी छ। शिर्ष ४ मा पर्नको लागि युभेन्टसले बाँकी सबै खेल मात्र जितेर पुग्दैन। अन्य क्लबको प्रदर्शनमा पनि भर पर्नुपर्ने हुन्छ।
युभेन्टसका लागि सबै भन्दा ठूलो चुनौती इन्टर मिलान विरुद्धको खेल हुनेछ। पछिल्लो समय उत्कृष्ट लयमा रहेर च्याम्पियन बनिसकेको इन्टरलाई युभेन्टसले सहजै हराउन सक्ने देखिँदैन।
च्याम्पियन्स लिगमा क्वालिफाई हुन नसके रोनाल्डोले युभेन्टस छाड्ने
युभेन्टस शिर्ष चारमा पर्ने सम्भावना कम हुन थालेसँगै रोनाल्डोले युभेन्टस छाड्ने सम्भावना बढेको छ। विभिन्न संचार माध्यमहरुका अनुसार युभेन्टस च्याम्पियन्स लिगका लागि क्वालिफाइ नभएको खण्डमा रोनाल्डोले क्लब छाड्नेछन्। हुन त उनी विभिन्न कारणले गर्दा यस अगाडी देखि नै रोनाल्डो क्लबसँग रुष्ट रहेको बताइन्छ।