बार्सिलोना फेरी बराबरीमा रोकियो, रियल र एट्लेटिकोलाई फाइदै-फाइदा !

एजेन्सी – खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेसँग बराबरी खेलेको छ ।

घरेलु मैदानमा लेभान्टेले बार्सिलोनालाई ३–३ गोलको बराबरीमा रोक्द्रै अंक खोस्न सफल भएको हो । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गर्दा लेभान्टेका गोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

पछिल्लो दुई खेलमा बार्सिलोनाको यो दोस्रो बराबरी हो । यसअघि बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेलेको थियो । लेभान्टेले पछि पछिल्लो दुई खेलमा दोस्रो बराबरीको नतिजा निकालेको हो । यसअघि लेभान्टेले एलाभेससँग २–२ गोलको बराबरी खेलेको थियो ।

भ्यालेन्सियामा मंगलबार राति भएको खेलको २५औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । जोर्डी अल्वाको क्रस जर्ज मिरामोनलाई डिफ्लेक्ट भएर आएको बललाई मेस्सीले भलीमार्फत गरेको प्रहारले गोलको दिशा लिएको थियो ।

३४औं मिनेटमा पेड्रीले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । तर दोस्रो हाफमा घरेलु टोली लेभान्टेले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई रोक्न सफल भयो । लेभान्टेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा गोन्जालो मेलेरोले जर्ज मिरामोनको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसको दुई मिनेटपछि रोजरको पासमा जोस लुइस मोरालेसले गोल गर्दै खेललाई बराबरीमा ल्याउदै खेलमा रोमाञ्चक मोडमा धकेले ।

६४औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२ ले अघि बढाए । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा सर्जियो लिओनले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै बार्सिलोनालाई जितबाट वञ्चित गराए ।

यो बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा उपाधि होडमा पनि धक्का लागेको छ । बार्सिलोनाको ३६ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ७७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल ७५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लेभान्टे ४० अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८०७:२२

कहाँ हरायो रोनाल्डोको जादु ? अब के होला भविष्य ?