भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

२९ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।

केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृ-त्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन ।

कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले ग-म्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृ-त्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ ।

यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप ४ हजार २०५ जनाको ज्यान गएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा हाल ३७ लाख ४ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा करिब ११ हजारले कमी हो । हालसम्म एक करोड ९३ लाख ८२ हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

मन्त्रालयका अनुसार गत जनवरीबाट शुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड ५० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोभिडको हालसम्म ३० करोड ७५ लाख नमुना परीक्षण गरिएको जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८१३:००

अक्सिजन कम भएपछि ग्राण्डी अस्पतालले थप बिरामी भर्ना नलिने [सूचना सहित]