फेरियो नेइमारको बोली, भन्छन् “मेस्सी र एम्बाप्पेसँग भन्दा पनि रोनाल्डोसँग खेल्ने इच्छा छ”

पीएसजी स्टार ब्राजिलियन स्ट्राइकर नेइमारको पटक-पटक आफ्नो राय परिवर्तन हुनु कुनै अनौठो कुरा हैन। र उनले एकपटक फेरी त्यस्तै हर्कत गरेका छन्। सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी प्रस्थान गरेका नेइमारले बार्सिलोना फर्किन निकै प्रयास गरेका थिए। उनले केहि समय अघि मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग फेरी सँगै खेल्ने ठूलो सपना रहेको बताएका थिए।

तर यो कुरामा पनि नेइमारको इच्छा परिवर्तन भएको देखिन्छ। अब ब्राजिलियन स्ट्रारले आफ्नो इटालियन क्लब युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्ने रहर भएको बताएका छन्। पोर्चुगिज कप्तान रोनाल्डोको युभेमा भविष्य अनिश्चित रहेको समयमा नेइमारको यस्तो प्रतिक्रिया आएको हो। फ्रेन्च क्लबका अर्का स्टार किलियन एम्बाप्पेले क्लब छाडेको खण्डमा पीएसजीले रोनाल्डोलाई भित्र्याउने प्रयास गर्ने रिपोर्टहरु पनि आइरहेका छन्।

“म क्रिस्टियानो रोनाल्डोसँग खेल्न चाहन्छु,” नेमारले जीक्यू फ्रान्सलाई भने, “मैले पहिले नै मेस्सी र एम्बाप्पे जस्ता महान खेलाडीहरूसँग खेलेको छु, तर मैले अहिलेसम्म क्रिस्टियानो रोनाल्डोसँग खेलेको छैन।”

त्यस्तै, उनले देशका लागि विश्वकप जित्ने आफ्नो ठूलो सपना रहेको पनि बताएका छन्। ब्राजिलका लागि विश्वकप जित्नु आफ्नो जीवनको सबैभन्दा ठूलो सपना रहेको बताउँदै उनले पीएसजीका लागि पनि सम्भव रहेको हरेक उपाधि जित्ने बताएका छन्। ३० वर्षीय स्टार खेलाडीले व्यक्तिगत रूपमा भने आफ्नो करियर सफल रहेको विश्वास गर्छन्।

हालै मात्र उनले क्लबसँग थप ५ वर्षका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८२१:२९

अर्को सिजन रोनाल्डो पोर्चुगल जाने पक्का ?