एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप (कप डि फ्रान्स) को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि सिधै भएको पेनाल्टी सुटआउटमा पीएसजीले बाजी मार्यो। पीएसजीका एन्जल डि मारिया, जुलियन ड्राक्सलर, लियान्द्रो ड्यानियल पारेडेस, मार्किन्हस, नेयमार र मोइस किनले पेनल्टी गोल गरे ।
मोन्टपेलिएरका जी साभिनिएर, एन्डी डिलर्ट, स्टेफी माभीडिडि, मिहाइलो रिस्टिक र गाइटान लाबोर्डेले गोल गरेपनि जुनियर साम्विया अन्तिम पेनाल्टीमा चुके।
किलियन एम्बाप्पेको दुई गोल
खेल पेनाल्टी सुटआउटमा जानु अगाडी दुवै टोलिबाट दुई-दुई गोल भएका थिए। पीएसजीका लागि दुवै गोल किलियन एम्बाप्पेले गरेका हुन् भने मोन्टपेलिएरको तर्फबाट गाइटान लाबोर्डे र एन्डी डिलर्टले गरेका थिए।
एम्बाप्पेको उत्कृष्ट गोल
पीएसजीका लागि एम्बाप्पेले गरेका दुवै गोल उत्कृष्ट थिए। एम्बाप्पेले खेलको १०औं मिनेटमा इड्रिसा गाना गुआइको पासमा गोल गरेका थिए भने दोस्रो गोल ५०औं मिनेटमा गरेका थिए।
एम्बाप्पेको दोस्रो गोल पहिलो भन्दा उत्कृष्ट थियो। उनले सोलो गोल गरेका थिए। एम्बाप्पेले गरेको उक्त गोलको यति बेला सामाजिक संजालमा राम्रै चर्चा भइरहेको छ।

