हिमाली गाउँगाउँमा फैलियो कोरोना

मनाङको चामेबाट कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत पोखरा लगिँदै। तस्बिर सौजन्य : नवीन लामिछाने

सिमकोट – जिल्ला सदरमुकाम सिमकोटमा सीमित रहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा गाउँमा समेत देखिएको छ । सङ्क्रमण गाउँमा वृद्धि भएसँगै स्थानीयबासी चिन्तित हुन थालेका छन् ।

बुधबार सर्केगाड गाउँपालिकामा गरिएको कोरोनाको एन्टिजिन परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो परीक्षणका क्रममा गाउँपालिका स्वास्थ्य संयोजक सहित अन्य दुईमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाले बुधबार र बिहीबार गरेको परीक्षणका क्रममा १३ पुरुष र ५ महिलामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए। बुधबारदेखि स्वास्थ्यकर्मीका दुई टोली बनाएर परीक्षण गरिएको थियो । उनले भने, “गाउँमा गाउँमा खटिएका टोलीले परीक्षण गर्ने क्रम जारी नै रहेकाले बिहीबार बेलुकासम्म्म १८ पुगेको हो ।”

सङ्क्रमित हुनेमा सबैभन्दा बढी वडा चारका दश जना छन् । लामो समयदेखि घरमै बिरामी परेकाहरु मध्येका अधिकांशमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए। मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चार मध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । ताँजकोटका एक जनाको रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।

परीक्षण गर्न चार टोली परिचालन

हरेक वडामा बिरामीको सङ्ख्या देखिएपछि आफैले एन्टिजिन कीट खरीद गरेर बुधबारबाट परिक्षण शुरुआत गरेको ताँजाकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले कारोना परीक्षणमा तीब्रता दिइएको जानकारी दिए। “सङ्क्रमणको दर वृद्धि भएपछि परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समूह परिचलान गरेको हौं ”उनले भने, “परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।”

सङ्क्रमणको जोखिम रहेको ताँजाकोट–३ रामागाउँका स्थानीयबासीले एन्टिजिन परीक्षण गर्न मानेका छैनन् । सिमकोटमा समेत बिहीबार थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल हुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७ र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचाना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लाभर सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । ती मध्ये आठले कोरोना जितेर घर फर्किएका छन्

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१८:२४

नेपाल कोरिया अस्पतालले शुरु गर्यो अक्सिजन उत्पादन !