एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तराले क्लबका सहकर्मी ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको खुलेर प्रशंसा गरेका छन्। लिभरपुलको आधिकारिक वेबसाइटसँग कुराकानी गर्नेक्रममा थियागोले फिर्मिनोको खुलेर प्रशंसा गरेका हुन्।
थियागोले फिर्मिनो जस्तो निस्वार्थी फरवार्ड कहिल्यै नदेखेको बताए। थियागोका अनुसार फिर्मिनो कुनै पनि स्वार्थ, लोभ-लालच नराखी टिमलाई जिताउन खेल्छ्न्।
बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि ४–२ को जित निकाल्नेक्रममा दुई गोल गरेका फिर्मिनो जस्तो खेलाडी कमै मात्र देख्न पाइने थियागोको भनाई छ।
“फिर्मिनोजस्तो निस्वार्थी फरवार्ड मैले अहिले सम्म देखेकै छैन।”,उनले भने,”मलाई लाग्छ उनी मैले आफ्नो खेल जीवनमा देखेको सबभन्दा कम स्वार्थी फरवार्ड हुन् ।”
फिर्मिनो लिभरपुलक लागि धेरै नै महत्वपूर्ण खेलाडी रहेको थियागोले बताए। उनले भने,”उनी हाम्रो लागि महत्वपुर्ण खेलाडी हुन्। उनी सधै आफ्नो टिमका लागि निस्वार्थ भएर खेल्छन्। उनी एक महान् गोलकर्ता पनि हुन् ।”
युनाइटेड विरुद्धको खेल बारे यस्तो बयान
बिहिबार राति भएको खेलमा लिभरपुलले ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडमाथि ४–२ को जित निकालेको थियो। एक गोलले पछि परेको अवस्थामा लिभरपुलको जितमा फिर्मिनोले दुई गोल गर्दा डिएगो जोटा र मोहम्मद सलाहले समान एक गोल गरेका थिए।
जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको युनाइटेड माथिको जितले आफूहरुको मनोबल बढाएको थियागोले बताए। आफूहरुले दोस्रो हाफमा धेरै राम्रो खेलेको उनको भनाई छ।

