राधेको नेपालमा ब्यापक विरोध !

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा सेन्सर भएको छैन । सेन्सर बिना नै नेपालमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएपछि यसको सर्वत्र विरोध भएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

यो फिल्लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरण गरेको छ । फिल्म हलमा रिलिज गर्नु नपर्ने भएपछि गोपीकृष्णले सेन्सर गर्नु नपर्ला भनेर यहाँको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको जनाएको छ ।

चलचित्र विकास बोर्डले भारतीय फिल्म राधेलाई बिना सेन्सर नै यहाँका नेट टिभी, डिस होमको फिल्म च्यानलगायतमा रिलिज गरिएको भन्दै सेन्सरका लागि बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो ।

सो पत्रप्रति मन्त्रालयको ध्यान गएको छ । फिल्म राधेलाई सेन्सर गरेर मात्र नेपालमा प्रदर्शन गर्नका लागि सञ्चार मान्त्रालयले शुक्रबार यो फिल्मको नेपाल वितरक गोपीकृष्ण मुभिजलाई पत्र काटेको छ । मन्त्रालयबाट पत्र आएपछि गोपीकृष्ण मुभिज सो फिल्मको सेन्सर तयारीमा शुक्रबार दिउँसोबाट जुटेको हो ।

नेपालमा नेपाली चलचित्रलाई हलदेखि टेलिभिजन च्यानलमा रिलिज गर्दा समेत सेन्सर गर्ने नियम छ । तर, विदेशी सिनेमा सेन्सर बिना चलाएपछि सबैतिरबाट विरोध भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राजधानीलाई बताए । फिल्म राधेलाई नेपालमा सेन्सर नै नगरी नेपालकै डिजिटल प्लेटफर्म र टेलिभिजन च्यानलबाट रिलिज गरिएको भन्दै बिहीबार बोर्डमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा आफूलाई यो फिल्मलाई सेन्सर गर्न सञ्चार मन्त्रालयलाई अनुरोधपत्र पठाएको पनि दाहालले राजधानीलाई बताए ।

फिल्म राधेलाई विदेशको ओटिटी प्लेटफर्म तथा च्यानलबाट रिलिज गरेर नेपालमा हेरिएको भए सेन्सर गर्नुपर्ने थिएन । तर, नेपालकै टेलिभिजन र नेपालबाटै सञ्चालिन नेट टिभीबाट रिलिज गरिएकाले यसको सेन्सर गर्नुपर्ने दाहालको भनाइ छ । यसअघि नेपालमा निर्माण भएका कतीपय चलचित्र हलमा रिलिज हुन नसके पनि डिसहोमको फिल्म च्यानल, अन्य टेलिभिजन र डिजिटल प्लेटफर्मबाट रिलिज गर्नका लागि सम्बन्धित फिल्मले सेन्सरको प्रक्रिया पूरा गरेको थुप्रै उदाहरण रहेको पनि अध्यक्ष दाहालले बताए ।

प्रकाशित : शनिबार, जेठ ०१, २०७८०८:०१

एसईईबारे छिटै निर्णय गरिने !