एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले सिजनको अन्त्यसँगै टोटेनहम हटस्पर छाड्ने क्लबलाई जानकारी दिएका छन् । प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेपछि रुष्ट बनेका इंग्ल्यान्डका कप्तान समेत रहेका सेन्टर फरवार्ड केनले क्लबका अध्यक्ष ड्यानियल लेभीलाई सिजनको अन्त्सँगै क्लब छाड्ने बताएका हुन् ।
केनको सम्झौता २०२४ सम्म रहेपनि क्लबसँगको चिसिदो सम्बन्धका कारण सम्झौता अवधि बाँकी रहँदै क्लब छाड्ने मनासयमा पुगेका हुन् । २७ वर्षीय केनको बजार मुल्य १५० मिलियन पाउन्ड रहेको छ । केनले टोटेनहम छाडेपनि इंग्ल्यान्डमै रहन चाहेको बुझिएको छ । तर, उनले आफ्नो पुर्व प्रशिक्षक मौरिसियो पोचेटिनोलाई पनि रोज्न सक्ने बुझिएको छ ।
केनले गत सिजन नै क्लब छाड्ने चर्चा चलेको थियो । तर कोभिड महामारीका कारण उनको स्थानान्तरण हुन सकेको थिए । क्लबका अध्यक्ष लेभीले केन कुनैपनि मुल्यमा उपलब्ध नहुने बताउँदै आएका छन् । केनको क्लब छाड्ने संकेतसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले उनलाई अनुबन्धको लागि प्रयास गर्ने तयारी थालेको छ ।
उनी युरोकप अघि नै आफ्नो भविष्य द्रुत रुपमा समाधान गर्न चहान्छ । तर, उनको मुल्यले उनको स्थानान्तरण असम्भव जस्तै देखिएको छ । लेभी क्लबको सम्पति बेच्न चाहदैनन् र सुरक्षित राख्न चहान्छ । केनको क्लब छाड्ने संकेतसँगै क्लबको प्रशिक्षण स्थल निराश बनेको छ । टोटेनहमले लिगको अन्तिम खेलमा बुधबार राति एस्टन भिल्लासँग घरेलु मैदानमा खेल्दैछ । जहाँ १० हजार समर्थकलाई प्रवेशको अनुमति दिइएको छ ।
स्रोतका अनुसार टोटेनहम आफ्नो स्टार खेलाडीलाई प्रिमियर लिग प्रतिद्वन्द्वी क्लबमा बेच्न चहादैनन् । क्लबले उनले क्लब नै छाड्न चाहेको अवस्थामा स्पेनिस क्लब रियल म्याड्रिड र फ्रान्सेली क्लब पीएसजीमा बेच्न चाहेको बुझिएको छ । यस्तै युभेन्टसले पनि केनलाई अनुबन्ध गर्न सक्ने बुझिएको छ । तर, युभेन्टसले क्रिस्टियानो रोनाल्डो र केनको पारिश्रमिक धान्न सक्नेमा शंका छ ।
टोटेनहमले पनि केनको विकल्पमा एक फरवार्डसहित लेस्टर सिटीका युरी टिलेमान्सलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । केनले यो सिजन २२ गोल र १३ असिस्ट दिएका छन् । उनी यो सिजन गोल र असिस्टमा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीभन्दा पछि छ ।
सन् २००९ देखि टोटेनहममा रहेका केनले क्लबका लागि ३३४ खेलमा २२० गोल गरिसकेका छन् । उनले तीन सिजन २०१० देखि १३ सम्म लेटन ओरिएन्ट, मिलवाल, नर्विच सिटी र लेस्टर सिटीबाट लोनमा खेलेका थिए ।

