एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) र मोनाकोलेआज राति फ्रेन्च कप (कप डि फ्रान्स) को उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल स्टेट डि फ्रान्समा नेपाली समयअनुसार आज राति १ बजे हुनेछ ।
साविक विजेता समेत रहेको पीएसजी मोनाकोलाई हराउँदै १४औं पटक फ्रेन्च कपको च्याम्पियन बन्ने दाउमा हुनेछ । पीएसजी फ्रेन्च कपको सर्वाधिक सफल टोली हो । पीएसजीले हालसम्म १३ पटक उपाधि जितेको छ ।
मोनाकोविरुद्ध मैदान उत्रदा टोलीले महत्वपुर्ण ब्राजिली फरवार्ड नेयमारलाई गुमाउनेछ । नेयमार प्रतिबन्धका कारण मैदान बाहिर हुनेछन् । तर टोलीसँग फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे, मोइस किन, एन्जल डि मारिया, राफिन्हा, एन्डर हेरेरा, ड्यानियल पारेडेस, थिलो केरहर, मार्किन्हस, एलेसान्द्रो फ्लारेन्जी र गोलरक्षक केलर नाभासको साथ रहनेछन् । कोलिन डग्वा, प्रेसनेल किमपेम्वे, मिट्चेल बाक्कर, डानिलो पेरेइरा, जुलियन ड्राक्सलर पनि टोलीमा रहेका छन् ।
यता, मोनाको पनि पीएसजीलाई स्तब्ध पार्दै १९९१ पछि पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुनेछ । त्यसपछि मोनाकोले २०१० मा फाइनल यात्रा तय गरेपनि पीएसजीसँग पराजित हुदै उपधिबाट विमुख बनेको थियो ।
टोलीसँग यो सिजन फ्रेन्च लिग वानका २० गोल गरिसकेका विसाम विन यडर, केभिन भोलान्ड, एलेक्सान्डर गोलोभिन, युसौफ फोफाना, गेल्सन मार्टिन्स, गुइलेर्मो मारिपान, सिदेवे र गोलरक्षक राडोस्ला माजेकी रहेका छन् ।
पीएसजीले लिग वान प्रतिद्धन्द्धी मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो । मोनाकोले चौथो श्रेणीको जिएफए रुमिलली भाल्लीरेसलाई ५–१ ले हराउँदै पीएसजीसँगको भेट पक्का गरेको थियो ।
यि दुई टोलीको पछिल्लो २४ भेटा पीएसजी १२ खेलमा विजयी भएको छ । ८ खेल बराबरीमा सकिदा ४ खेल मोनाकोले आफ्नो पक्षमा पारेको छ । पीएसजीले पछिल्लो दुई खेलमा मोनाकोलाई हराउन सकेको छैन । पीएसजी हारको यात्रा टुंग्याउदै उपाधि जित्न चहान्छ भने मोनाको पीएसजीमाथिको जितको यात्रालाई निरन्तरता दिदै उपाधि जित्ने योजनामा हुनेछ ।

