काठमाडौँ / कोरोना महामारी भाइरसको महामारीबीच सरकारले कोरोनाको खोप ल्यायो । भारतबाट अनुदानमा दिएको १० लाख डोज र चीनबाट आएको आठ लाख खोप प्रयोग भइसक्यो । सरकारले भारतको सिरम इन्स्टिच्यूटबाट २० लाख डोज खोप किन्ने सम्झौता गरेकामा १० लाख डोज मात्रै आयो र बाँकी तत्काल नआउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग खोप उपलब्ध गराइदिन आग्रह गर्दैआएका छन् । बिहीबार मात्रै प्रधानमन्त्रीले बेलायती राजदूतलाई खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कूल २१ लाख १३ हजार ८० जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् भने चार लाख २६ हजार पाँच सय १० जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
नेपालले खोप आयात गरेको भारतको सिरम इन्स्टिच्यूटले आगामी पुस मसान्त अगाडि खोप दिन नसक्ने बताइसकेको छ । उसले नेपाललाई मात्रै नभई बङ्गलादेशलाई समेत त्यस्तै जानकारी गराएको छ ।
नेपाल सरकारले चीनबाट खोप ल्याउने तयारी गरिरहेको छ । खोप आइसकेपछि व्यवस्थित रुपले लगाइदिने प्रयोजनका लागि अनलाइनमार्फत् फारामसमेत भराउन थालिसकेको छ । नेपालमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दो छ । अस्पतालमा शय्या पाउन मुस्किल छ । अक्सिजनको अभाव पनि उस्तै छ । यस्तो विषम अवस्थामा पनि सहज उपलब्ध हुनसक्ने एउटा विकल्प रहेको डा. समर्थ सिंहको दावी छ ।
उनले सरकारले अनुमति दिएको खण्डमा नाकमा प्रयोग गरेर कोरोना नियन्त्रण गर्न सकिने खोप नेपालमै बनाउन सकिने राससलाई जानकारी दिए । उनले भने, ‘संसारका खोप उत्पादक विभिन्न कम्पनीहरुले नाकमा प्रयोग गर्न सकिने खोपको बारेमा गरेको शोध तथा अनुसन्धानलाई निक्कै अगाडि पु¥याइसकेका छन् । केही कम्पनीको खोप त परीक्षणको क्रम मै छ । सरकारले अनुमति दिए आगामी ६ महिनाभित्र नेपालमा पनि यस्तो खोप बनाउन सकिन्छ ।’
डा. सिंहका अनुसार कोरोना भाइरसको लहर फैलिरहेको र एकाध वर्ष अझै यसका नयाँ नयाँ प्रजाति देखा पर्नसक्ने भएकाले नेपाल जस्ता कमजोर आर्थिक अवस्था भएका देशले ठूलो मूल्य तिरेर खोप खरिद गर्न पनि सक्दैनन् । त्यसकारण पनि कम लागतमा नाकमा प्रयोग गर्न मिल्ने खोप तयार पार्न जरुरी छ । त्यो काम गर्न सकिन्छ ।
कोरोना नाक र मुखबाट नै सर्ने भएकाले पनि त्यसलाई जहाँ सङ्क्रमण हुने हो, त्यहीँ नष्ट गर्ने उपाय उक्त खोपमा देखिन्छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले खोप निर्माता कम्पनी भारत बायोटेकलाई नाकमा राख्ने खोप विकास गर्न स्वीकृति दिएको छ ।

