लालिगा च्याम्पियन बन्ने उत्तरार्धमा एटलेटिको, भोलि लाग्दै टुंगो !

एजेन्सी – एटलेटिको म्याड्रिड सन् २०१३-१४ पछि पहिलोपटक लालिगा जित्ने अवसर जुटेको छ। एटलेटिको लालिगा उपाधि देखि एक कदम मात्र टाढा छ। बाँकि रहेको सिजनको एक मात्र खेल जितेको खण्डमा एटलेटिको लालिगा च्याम्पियन बन्नेछ।

ओसासुना विरुद्ध २-१को जित निकालेपछि एटलेटिको अहिले लालिगाकोप शिर्ष स्थानमा छ। उसले ३७ खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा एटलेटिको २ अंकले अगाडी छ।

शनिबार लाग्दै लालिगा च्याम्पियनको टुंगो

शनिबार एटलेटिको र रियल म्याड्रिड दुवैले निर्णायक खेल खेल्दैछन्। शनिबार एटलेटिको म्याड्रिडले रियल भालाडोलिडसँग खेल्दै छ भने रियलले भिल्लारियलसँग खेल्नेछ। दुवै खेल नेपाली समय अनुसार बेलुकाको ९ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

भालाडोलिडको घरेलु मैदानमा हुने खेल जित्नै पर्ने दबावमा एटलेटिको हुनेछ। उक्त खेल जित्न सकेको खण्डमा एटलेटिको २०१३-१४ सिजन पश्चात पहिलोपटक लालिगा च्याम्पियन बन्नेछ। त्यस्तै घरेलु मैदानमा हुने खेल जित्ने पर्ने दबावमा रियल पनि हुनेछ। शनिबारको खेल जितेर मात्र रियल च्याम्पियन बन्न सक्ने छैन।

बराबरी भए के हुन्छ ?

शनिबारको खेलमा भालाडोलिड र एटलेटिको म्याड्रिडको खेलमा बराबरी भएको खण्डमा केहि हद सम्म रियललाई फाइदा हुनेछ। त्यस्तो अवस्थामा रियल म्याड्रिडले शनिबार नै हुने भिल्लारियल विरुद्धको खेल जिते रियल च्याम्पियन बन्नेछ।

हारे के हुन्छ ?

भालाडोलिडसँगको खेलमा पराजय बेहोरेको खण्डमा लालिगा रियलको पोल्टामा जाने सम्भवना रहन्छ। तर, शनिबार रियल र एटलेटिको दुवैले हारेको खण्डमा भने एटलेटिको च्याम्पियन बन्नेछ।

दुवैले जिते एटलेटिको च्याम्पियन

शनिबारका खेलमा रियल र एटलेटिको दुवैले जितेको खण्डमा एटलेटिको नै च्याम्पियन बन्नेछ। त्यस्तो हुँदा स्पष्ट २ अंक अग्रताको आधारमा एटलेटिको च्याम्पियन बन्नेछ।

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७८१३:०६

“सिटीमा फिल फोडेन मेस्सीको श्रेणीका खेलाडी हुन्”