मंगलबार ब्राइटन विरुद्ध भएको खेलमा म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडेनले यस्तो उत्कृष्ट गोल गरे, जसको कारण उनलाई अहिले फुटबल प्रशंसकहरुले बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग दाज्न सुरु गरेका छन्। मैदानको आफ्नै हाफबाट बल रिसिभ गरेका फोडेनले त्यसपछि एक आकर्षक एकल गोल गर्न सफल भए।

२० वर्षीय इंगलिस मिडफिल्डर फोडेनले उक्त उत्कृष्ट गोल गर्दै सिटीलाई खेलमा २-० को अग्रता दिलाएका थिए। १० खेलाडीमा सिमित सिटी खेलमा लिएको २-० को अग्रता जोगाउन नसक्दा ३-२ ले पराजित हुन पुग्यो।

इंगलिस अन्तराष्ट्रियले आफ्नै हाफमा बल रिसिभ गरेपछि आफ्नो उत्कृष्ट कला देखाउँदै बल विपक्षीको हाफ तर्फ बढाए। आफ्नो प्राविधिक क्षमताको प्रदर्शन गर्दै उनले आफ्नो मार्करलाई छक्काउँदै बल ब्राइटको डी-बक्स भित्र पुर्याए। एक पटक उनले बल विपक्षीको बक्स भित्र पुर्याए, त्यसपछि कुनै गल्ती नगरी बटम-कर्नरमा बललाई जाली चुमाउदै आफ्नो उत्कृष्ट गोल पूरा गरे।
https://www.youtube.com/watch?v=mIfxgqw9m7s
उनको यस उत्कृष्ट गोललाई फुटबल फ्यान्सले निकै मन पराएका छन् र कतिपय प्रशंसकले त फोडेनलाई मेस्सीसँग तुलना गरेका छन्। एक फ्यानले सामाजिक सञ्जालमा लेखे,”धेरै जसो खेलाडी डिफेन्डरले तानेपछि मैदानमा लड्ने गर्छन् तर फोडेनले एक उत्कृष्ट तरिका देखाए र उत्कृष्ट गोल गर्न सफल भए, पियोर क्लास।”

अर्का एकले त भने,”फिल अहिलेका मेस्सी हुन्, मैले सधैं भनेको हुन्छु तर कसैले सुन्दैनन्।” अन्य थुप्रै मानिसले उनको यो क्षमतालाई मेस्सीसँग तुलना गरिरहेका छन्।

फोडेनले यस सिजन सिटीका लागि ४८ खेल खेल्दै १५ गोल गर्न सफल भएका छन् भने थप १० असिस्ट प्रदान गरेका छन्। उनलाई हाल विश्व फुटबलको सर्वोत्कृष्ट युवा खेलाडी मध्ये एकको रूपमा हेरिन्छ।

