एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले ला लिगाको अन्तिम खेल गुमाउने भएका छन् । उपाधिका लागि निकै महत्वपुर्ण रहेको भिल्लारियलविरुद्धको खेलमा हाजार्ड टोलीमा नरहेको प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् ।
ला लिगाको अन्तिम चरणको खेलबाट नै यो सिजनको ला लिगाको विजेताको छिनोफानो हुुनेछ । रियल र एट्लेटिको म्याड्रिडबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । उपाधि होडमा रहेको एट्लेटिकोले आज राति नै रियल भालाडोलिडको सामना गर्दैछ । भालाडोलिडलाई रेलिगेसन जोगाउन यो खेलमा जित हात पार्नुपर्नेछ ।
उनले चोट बोकेका कारण प्रशिक्षक जिदानले भिल्लारियलविरुद्धको खेलका लागि हाजार्डलाई खेलाएर कुनै जोखिम नलिने बताएका छन् । कप्तान तथा डिफेन्डर सर्जियो रामोससँगै राफयल भरान टोलीमा समेटिएका छन् ।
ला लिगाको ३७औं चरणको खेल सकिदा दोस्रो स्थानमा रहेको रियलको ८१ तथा शीर्षस्थानको एट्लेटिकोको ८३ अंक छ । एट्लेटिकोले बराबरी खेलेको अवस्थामा रियलले जित निकाल्न सके रियल च्याम्पियन बन्नेछ । रियल बराबरीमा रोकिएको अवस्थामा एट्लेटिकोले हार बेहोरेपनि एट्लेटिको च्याम्पियन बन्नेछ ।

