नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ ।
राष्ट्रपतिबाट कात्तिक र मङ्सिरमा निर्वाचन मिति घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष गर्नुभएको थियो । पहिलो र दोस्रो चरणमा अर्काे प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सो मिति तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।