ज्योतिषाचार्य दामोदरनाथ लोहनी । साताका चाड : ८ गते स्मार्तहरूको मोहिनी एकादशी व्रत । ९ गते वैष्णवहरूको मोहिनी एकादशी व्रत । १० गते प्रदोष वत । ११ गते नृसिंह जयन्ती । १२ गते पूर्णिमा व्रत, चण्डीपूर्णिमा, बुद्धजयन्ती, कुर्मजयन्ती, (स्वाया पुन्ही), उँभौली चाड ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
मनमा सन्तोष हुने छैन । काम गरेको ठाउँमा जस पाइने सम्भावना साह्रै कम छ । बेकारको झगडा पर्ने सम्भावनासमेत देखिन्छ । विशेषगरेर १२ र १३ गतेका दिनहरू त्यति राम्रा छैनन् । असल काम गर्न खोजे पनि बाधा आइरहला । शिवजीको दर्शन गरिरहनुहोस् ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
साता राम्रै छ । सानातिना समस्यालाई सजिलै टार्न सक्नुहुनेछ । सुरुको दिनमा मनमा अलि-अलि शङ्का र भय होला तर बिस्तारै घटेर जानेछ । वैवाहिक काममा आएको बाधासमेत न्यून भएर जाला ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
स्वास्थ्यसम्बन्धी समस्याले पिरोलिरहला । त्यसैले खानपानमा निकै सतर्क हुनुहोस् । बौद्धिक स्थिति पहिलेभन्दा परिमार्जित भए पनि ठोस निष्कर्षमा पुग्न भने गाह्रो हुनेछ । नारायणको नित्य दर्शन गरेमा सामुन्ने आएका समस्या र बाधालाई टार्न सक्नुहुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
त्यति नराम्रो साता होइन । मध्यभागमा स्वास्थ्यसम्बन्धी केही समस्या त आउला तर त्यसलाई समाधान गर्न सकिने छैन । आफ्नो र परिवारको स्वास्थ्यले यो सातामा बढी नै खर्च गराउला । व्यापार र व्यवसायको कामले राम्रै टेवा दिनेछ । मित्र असलखालका छन् ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सातालाई राम्रो रूपमा लिन सकिन्छ । परिश्रम बढी परेझैँ त्यसबाट फल प्राप्ति समेत गतिलै होला । काम गरेको ठाउँमा हाकिमलाई प्रसन्न पार्न सकिनेछ । मुद्दा-मामिलामा तपाईंकै जित हुनेछ । बाधा दिने तत्वहरु बिस्तारै सेलाउनेछन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुका दिनमा भोजभतेर पर्नुको साथै मित्रहरूसँग भेटघाट भइरहला । त्यस्तै यो सातामा आम्दानीको कुनै गहकिलो स्रोतसमेत भेट्टाइनेछ । हातले समातेको व्यवसायबाट राम्रै फाइदा होला । मनको निराशा बिस्तारै घटेर जानेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
सुरुका दिनमा एकदमै खर्च बढ्नेछ । सोमबार र मङ्गलबारमा आफ्नै खर्चले भोजभतेर गरिएला । साहसमा अलिकति भए पनि वृद्धि हुँदै जाला । व्यापार व्यवसायबाट पनि फाइदा भइरहनेछ । पढाइमा भएको ह्राससमेत यो सातामा क्रमशः घटेर जाला ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
साता सामान्यखालको छ । आय र व्ययबराबर खालको हुनाले बचत हुने सम्भावना त्यति देखिन्न । पढाइमा पनि हाल पूरा मन जालाजस्तो छैन । बाधा दिने तत्वहरु अझैँ पनि घटेका छैनन् । त्यसैले गणेशको आराधना गर्न नबिर्सनुहोस् । जागिरतिर नराम्रो समय छैन ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
अधिकांश दिन तपाईंका लागि सन्तोष दिनेखालका छन । गरेका काम बन्ला भने केही नयाँ कामसमेत हातमा पर्लाजस्तो छ । अलि–अलि बाधा त आउला तर त्यसलाई सजिलै समाधान गर्नुहुनेछ । व्यापारको क्षेत्रमा आएको अप्ठेरो पनि निर्मूल हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
समय राम्रो छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला । गरेका काम बन्ने पनि छन् । आर्थिक चिन्ता लिनुपर्ने छैन । विरोधीहरू क्रमशः परास्त भएर जानेछन् । खर्चको मात्रा भने घट्ने छैन । आफ्नाभन्दा पनि परिवारकै लागि बढी खर्च होला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
सुरुका दुई दिन त्यति राम्रा छैनन् । त्यसैले शनिबार र आइतबार कुनै पनि महत्वपूर्णखाले काम नगर्नुहोस् । सोमबारपछिका दिनहरू राम्रा छन् । तपाईंको हातबाट कुनै गतिलो कामसमेत हुन जानेछ । स्वास्थ्यमा आएको बाधा क्रमशः हटेर जाला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मध्यमखालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछन् । पढाइमा ठूलो प्रगति देखिन्न । त्यस्तै काम गरेको ठाउँमा समेत जस पाइने सम्भावना कम छ । व्यावसायिक कामले मात्र तपाईंलाई राम्रो टेवा देला । परिवार र मित्रको भूमिका गतिलो हुनेछ।