काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी खोल्ने भएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद समाधान तर्फ अगाडी नबढेसँगै नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।
एक मिडियासँग अन्तर्वार्ता दिनेक्रममा नेपालले केपी शर्मा ओलीले धकेलेर पार्टीलाई फुट सम्म पुर्याएको बताए। ओलीले आफूहरुलाई अर्को पार्टी खोल्न बाध्य बनाएको उनको आरोप छ।
“केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।”,कान्तिपुरलाई दिएको अन्तर्वार्तामा माधव नेपालले भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन भएपछि प्रतिगमनविरुद्ध लड्नुको विकल्प नरहेको नेता नेपालले बताए। ओलीले दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको दावी नेता नेपालले गरे। ओली विदेशीसँग मिलिसकेका कारण सँगै बस्ने अवस्था नरहेको उनले स्पष्ट पारे।
नेता नेपालले भने,”हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु !”

